
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने र खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामा हुने पुष्टि गरेका छन्। इरानले जुन १५ र २१ मा लस एन्जलसमा न्युजिल्यान्ड र बेल्जियमसँग, र जुन २६ मा सिएटलमा इजिप्टसँग खेल्ने तालिका रहेको छ।
इन्फान्टिनोले एएफपीसँग भने, ‘इरान विश्वकपमा हुन्छ। उनीहरू निकै बलियो टोली हुन् र म निकै खुसी छु। खेलहरू ड्र अनुसार तोकिएका स्थानमा नै हुनेछन्।’ इरान फुटबल महासंघका उपाध्यक्ष महदी मोहम्मदनाबीले फिफाका नियमहरू सबैभन्दा महत्वपूर्ण रहेका र फिफाको निर्णयहरूको सम्मान गर्ने बताए।
अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण इरानको सहभागिताबारे अनिश्चितता देखिएको थियो। यसअघि इरान फुटबल महासंघले आफ्ना खेलहरू अमेरिकाबाट सारेर मेक्सिकोमा गराउन फिफासँग छलफल गरिरहेको जनाएको थियो।
इन्फान्टिनोले हालै टर्कीमा कोस्टारिकाविरुद्ध इरानको ५–० को मैत्रीपूर्ण जित पनि अवलोकन गरेका थिए। उनले भने, ‘मैले टोली, खेलाडी र प्रशिक्षकसँग कुरा गरेको छु, सबै ठीक छ।’ महदी मोहम्मदनाबीले पनि इन्फान्टिनोको सहयोगले खेलाडीहरूलाई थप ऊर्जा दिएको बताएका छन्।






