गृहमन्त्री सुधन गुरुङले एमालेका दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेटे

१७ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेकपा एमालेका कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकहरूसँग भेटघाट गरेका छन्। मंगलबार ललितपुरस्थित आफ्नै निवासमा पुगेका गुरुङले ती ज्येष्ठ नागरिकहरूसँग भेट गरेका हुन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीहरूमाथि हातपात गरेका थिए।
सडकपेटीमा हिँडडुल गरिरहेका ती ज्येष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने आरबी शर्मा वा राम शरण शर्मा बजगाईं पक्राउ परेका छन्। गृहमन्त्रीले उनीहरूलाई भेट्न गएपछि पीडित ज्येष्ठ नागरिकहरूले आफूहरू पीडामा हुँदा साथ दिएकोमा धन्यवाद व्यक्त गरेका छन्। उनको सचिवालयका अनुसार गृहमन्त्री गुरुङले आफ्नो काम सकेर निवास फर्कने क्रममा ती ज्येष्ठ नागरिकलाई भेट गरेका हुन्।






