Skip to main content

देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

१८ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्न लागेको छ। पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि सुरु गरेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
गत शनिबार कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले यसलाई गम्भीर रूपमा लिएको थियो। विशेष महाधिवेशनबाट कांग्रेस सभापति गगन थापा चयन भइसकेको र निर्वाचन आयोगले पनि मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काको उक्त विज्ञप्तिप्रति क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा छलफल भएको थियो। मंगलबार खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए। शेखर कोइराला र शशांक कोइरालालाई दायाँवायाँ राखेर उनले कार्यक्रम आयोजना गरेका थिए, जसपछि कांग्रेस रुष्ट भएको छ। खड्काले चैत १९ गते जिल्ला सभापतिहरुको भेला पनि बोलाएका छन्। त्यसैले यिनै विषयमा आज अनुशासन समितिमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिएका छन्।