Skip to main content

२० वर्षपछि फिफा विश्वकपमा पुनः प्रवेश गर्यो चेक रिपब्लिक

चेक रिपब्लिकले २० वर्षपछि फिफा विश्वकपको टिकट सुनिश्चित गरेको छ। डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै विश्वकपमा छनोट भएको हो। नियमित समय १-१ र अतिरिक्त २-२ गोल बराबरी भएपछि पेनाल्टी सुटआउटले विजेता निर्धारण गर्‍यो। १८ चैत, काठमाडौं।

युरोपेली राष्ट्र चेक रिपब्लिकले मंगलबार राति युरोपियन प्लेअफमा डेनमार्कलाई हराउँदै फिफा विश्वकप २०२६ मा स्थान सुरक्षित गर्‍यो। यस अघि चेक रिपब्लिक अन्तिम पटक सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सहभागी भएको थियो र अहिले पहिलोपटक पुनः विश्वकपमा प्रवेश गरेको छ।

पेनाल्टी सुटमा चेक रिपब्लिकका चार खेलाडीमध्ये तीनले गोल गरे भने डेनमार्कका तीन खेलाडीले गोल गर्न सकेनन्। चेकका तोमस चोरी, तोमस साउसेक र माइकल सादिलेकले पेनाल्टीमा गोल गर्दा लाडिस्ला क्रेज्सीले गोल गर्न सकेनन्। डेनमार्कका क्रिस्टियन एरिक्सन मात्र सफल भए भने रासमुस होजलुन्ड, आन्रेदस ड्रेयेर र माथिएस जेन्सेन गोल गर्न सकेनन्।

खेलको शुरुवातमा चेकले दुई पटक अग्रता लिए तापनि डेनमार्कले बराबरी गोल फर्काएको थियो। पेल सुल्सले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए भने जोचिम एन्डरले ७२ औं मिनेटमा गोल गरी बराबरी कायम गरे। नियमित समयपछि थप ३० मिनेट अतिरिक्त समय थपियो। लाडिस्ला क्रेज्सीले १०० औं मिनेटमा गोल गर्दै चेकलाई पुनः अग्रता दिलाए, तर डेनमार्कले १११ औं मिनेटमा क्यासपर होगको गोलबाट खेल २-२ मा पुर्‍यायो। थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटबाट टुंगियो। अब चेक रिपब्लिक विश्वकप २०२६ को समूह ए मा सह-आयोजक मेक्सिको, दक्षिण अफ्रिका र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ।