
यातायात कार्यालयबाट बिचौलियासहित बरामद लाइसेन्स र नगदीसहितका सामग्रीहरु। भक्तपुरको मध्यपुर थिमि यातायात कार्यालयबाट दुई जना बिचौलिया अनावश्यक दु:ख हैरानी दिने आरोपमा पक्राउ परेका छन्। काठमाडौंका चार यातायात कार्यालयबाट दुई दिनमा ३२ जना बिचौलिया पक्राउ परेका छन् र अनुसन्धान जारी छ। पक्राउ परेकाबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। १९ चैत, काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५ राधेराधे स्थित यातायात व्यवस्था कार्यालयबाट मंगलबार दुई जना बिचौलिया पक्राउ परेका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ घर भएकी २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनको कालिका नगरपालिका-६ का ३० वर्षीय सुनिल थापा पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले समातेको हो। सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिने तथा सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
यातायात कार्यालयबाट प्रदान गरिने लाइसेन्स वितरण, नवीकरण, ब्लु बुक नवीकरण, सवारी दर्ता जस्ता सेवामा अनावश्यक दु:ख हैरानी दिने र फास्ट ट्रयाकको बहानामा रकम लिने गरिरहेका बिचौलियामाथि लामो समयदेखि आरोप लागेको छ। सेवाग्राहीबाट बिचौलियाहरुको बिरूद्ध गुनासो आएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी ईश्वर कार्कीले अनावश्यक दु:ख हैरानी दिनेहरुलाई कानुनी कारबाहीमा ल्याउने अभियान सुरु गरिएको बताएका छन्। ‘कानुन विपरीतको कार्य गर्ने कसैलाई छुट छैन। काममा अवरोध र दु:ख दिनेहरुलाई प्रहरीले कानुनी दायरामा ल्याउनेछ’ भनी उनले बताएका छन्। भक्तपुरमा दुई जना पक्राउ परेकै दिन काठमाडौंमा पनि १५ जना बिचौलिया पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भुले मंगलबार मात्रै ७ जना बिचौलियालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात कार्यालयबाट प्रहरी वृत्त स्वयम्भुले ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकोमध्ये रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, काठमाडौं रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछापको खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङको निलकण्ठ नगरपालिका–५ का ३६ वर्षीय कल्पना लम्साल र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार उनीहरूबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको छ। सेवाग्राहीलाई दु:ख हैरानी दिने, बिलबुक नवीकरण गरिदिन्छु भनेर सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने आरोप उनीहरूमाथि छ। अहिले काठमाडौँ परिसर र यसका मातहत कार्यालयहरूमा बिचौलिया नियन्त्रण अभियान चलिरहेको छ। ठ्याक्कै स्वयम्भु वृत्त जस्तै मंगलबार मात्रै प्रहरी वृत्त थानकोटले पनि ८ जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये काठमाडौँ कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रे तेमाल गाउँपालिका–८ का ३० वर्षीय सुनिल लामा, काठमाडौँ चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीय सुदीप मगर, धादिङ थाक्रे गाउँपालिका–४ का २० वर्षीय बुद्ध तामाङ रहेका छन्। सोक्रममा मकवानपुर थाहा नगरपालिका–९ का २६ वर्षीय सुमेश नेपाली, थाक्रे गाउँपालिका–४ का २४ वर्षीय अमन तामाङ, बझाङ तेलकोट गाउँपालिका–४ का १८ वर्षीय उज्ज्वल सिंह र मोरङ केराबारी गाउँपालिका–५ का २६ वर्षीय दिलिप राई पनि पक्राउ परेका छन्। यसअघि जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले एकान्तकुनास्थित यातायात व्यवस्थापन कार्यालयबाट पनि १५ जना बिचौलियालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये चारजना पुनः पक्राउ परेका व्यक्तिहरू रहेको ललितपुर परिसरका एसपी गौतम मिश्रले जानकारी दिएका छन्। यससँगै दुई दिनको अवधिमा उपत्यकाका चार वटा यातायात कार्यालयबाट ३२ जना बिचौलिया पक्राउ परेका छन्। उनीहरूलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। यातायात कार्यालयजस्तै वैदेशिक रोजगार विभाग, राहदानी विभाग लगायतका सरकारी कार्यालयहरूमा पनि बिचौलिया सक्रिय रहेको गुनासो आउने गरेको छ। यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले राहदानी विभागबाट पटक-पटक बिचौलियाहरू पक्राउ गर्दै आएको थियो। हाल फेरि बिचौलियाहरुले सेवाग्राहीलाई हैरानी गरेको गुनासो आइरहेका बेला प्रहरीले सरकारी वकिल कार्यालयबाट समेत बिचौलियाहरूलाई धावा बोलेर पक्राउ गरिरहेको छ।






