Skip to main content

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने काम सुरु गर्यो

चितवन राष्ट्रिय निकुञ्जले चैत १ गतेदेखि राप्ती नदीमा घडियाल गोहीका गुँड खोज्न सुरु गरेको छ। गुँडहरूको खोजी पछि अण्डा संकलन गरी गोही प्रजनन केन्द्रमा बच्चा कोर्ने प्रक्रिया सुरु गरिने छ। यस वर्ष निकुञ्जले राप्ती नदीमा मात्र घडियाल गोहीका गुँड खोज्ने निर्णय गरेको छ।

राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडहरू खोज्न कार्य सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले प्रत्येक वर्ष चैत तथा वैशाख महिनामा घडियाल गोहीका नदीमा गुँड खोज्ने काम गर्दछ। निकुञ्जका सूचना अधिकृत अविनास थापा मगरका अनुसार चैत १ गतेदेखि गुँड खोज्ने काम आरम्भ गरिएकामा यो प्रक्रिया वैशाख १० गतेसम्म जारी रहने छ। यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उनले बताए।

गुँड खोजिसकेपछि पुनः कर्मचारी परिचालन गरी अण्डा संकलनको काम सुरु गरिनेछ। उनले भने, ‘अहिले गुँड पहिचानको काम भइरहेको छ, यसपछि अण्डा सङ्कलन गरिने छ।’ गुँडमा रहेका अण्डाहरू संकलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेपछि बच्चा कोर्ने प्रक्रिया आरम्भ गरिने उनले जानकारी दिए। यद्यपि अघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा घडियाल गोहीका गुँड खोज्ने गरेका थिए भने यस वर्ष राप्ती नदीमा मात्र खोजी गर्ने तयारी छ।