
नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख चयन भएपछि मात्र संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सभामुख चयनपछि कांग्रेसले संसदीय दलको नेता चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर निर्वाचन समिति बनाउने छ। प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसमा संसदीय दलको नेता चयनका लागि मतदान प्रक्रिया अपनाउने सम्भावना बढी रहेको छ। १९ चैत, काठमाडौं। नवगठित प्रतिनिधिसभाले सभामुख चयन गरिसकेपछि मात्र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता टुंगो लगाउने भएको छ। पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसी हाल जेष्ठ सदस्यको भूमिकामा रहेका कारण कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्ने भएको हो।
कांग्रेसका तर्फबाट समानुपातिकतर्फ सांसद निर्वाचित केसीले आकांक्षा राखेका कारण सभामुखको टुंगो लागेपछिमात्रै संसदीय दलको नेता चयनबारे प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ। कांग्रेसको एक उच्च नेताले सभामुखको निर्वाचनपछि मात्रै पार्टीले संसदीय दलको नेता चयनबारे छलफल अघि बढाउने जानकारी दिए। ‘अर्जुननरसिंह दाइले इच्छा देखाइरहनुभएको छ। अहिले उहाँ सभा सञ्चालन गर्ने भूमिकामा हुनुहुन्छ,’ ती नेताले भने, ‘सभामुख चयन भएपछि जेष्ठ सदस्यको हैसियतमा उहाँले संसद् चलाउनु पर्दैन। त्यसपछि मात्रै हाम्रो छलफल हुन्छ।’
प्रतिनिधिसभाका सभामुखको निर्वाचन २२ चैतका लागि तय भएको छ। निर्वाचनका लागि २० चैतमा मनोनयन दर्ता तोकिएको छ। २२ चैतमा निर्वाचन भएकै दिन सभामुखको पदबहाली भएपछि कांग्रेस सांसद केसीले जेष्ठ सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिका समाप्त हुनेछ। कांग्रेस स्रोतका अनुसार पार्टीले २३ चैतपछिमात्रै संसदीय दलका नेता चयन गर्ने देखिन्छ। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले दलको नेता चयनका लागि निर्वाचन समिति बनाउन केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार आगामी शनिबार बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन समिति चयन गर्ने छ। ‘कार्यसम्पादन समितिको बैठक बसेर निर्वाचन समिति बन्छ। निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउँछ,’ महामन्त्री घिमिरेले भने, ‘शनिबारका लागि कार्यसम्पादन समिति बैठक बोलाएका छौं।’






