Skip to main content

सभामुख निर्वाचित भए संविधान र कानुन अनुसार न्यायसंगत काम गर्नेछु : डिपी अर्याल

रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भए नेपालको संविधान र कानुनको दायराभित्र न्यायसंगत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्राप्त हुने जिम्मेवारीलाई न्यायपूर्ण रूपमा पूरा गर्ने बताए। अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने जानकारी गराए।

उनी आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि रहेको कुरा स्पष्ट पारे। उनले भने, ‘मैले जुन जिम्मेवारी पाउँदैछु त्यो निर्णय र प्रक्रिया अझै बाँकी छ। त्यसकारण प्रक्रिया पूरा भएर म त्यो जिम्मेवारीमा पुगे भने नेपालको संविधान, कानुन, नेपाली जनताको तथा राष्ट्र र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्ने काम न्यायसंगत रूपमा गर्नेछु।’

सभामुखको निर्वाचन प्रक्रिया अघि बढिरहेको बेला रास्वपाले आफ्नोतर्फबाट उपसभापति अर्याललाई अघि सार्दैछ। अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरूलाई पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता पुनः दोहोर्‍याए।