डीपी अर्याल : रास्वपा नबन्दै रवि लामिछानेलाई समर्थन गर्दै आएका नेतालाई प्रतिनिधिसभाको नेतृत्वमा नियुक्ति

डोलप्रसाद अर्याल एक समय जापानमा मनी ट्रान्सफरको व्यवसाय चलाउँथे। उनले त्यतिबेला चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई आफ्नो व्यवसायको ‘ब्रान्ड एम्बेस्डर’ बनाएका थिए। अहिले, लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अर्याललाई देशका तीन अङ्गमध्येको एक व्यवस्थापिका सदनको नेतृत्व गर्न अघि सार्दैछ। सभामुख संवैधानिक परिषद्का पदेन सदस्य पनि हुन्छन्। एकल उम्मेदवारीमा विसं २०३१ साल भदौमा जन्मिएका ५१ वर्षीय अर्याल निर्विरोध रूपमा प्रतिनिधिसभाको सभामुखमा चयन भएका छन्। तथापि, उनी सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुन अझै बाँकी छ।
“एक अत्यन्त सरल, मेहनती, इमानदार, मिलनसार र आत्मीय साथी कमैले पाउँछन्, जसले पाउँछ ऊ भाग्यमानी हुन्छ र म त्यही भाग्यमानी मान्छेमा पर्दछु,” विसं २०७९ साल भदौ ६ गते अर्यालको जन्मदिनमा शुभकामना दिँदै लामिछानेले सहकर्मी दीपक बोहराको फेसबुक पोस्टमा कमेन्ट लेखेका थिए। “साथी होस् त तपाईंजस्तो। आँटेको पुगोस्, भगवान् दाहिना होऊन्..।” गत महिना भएका निर्वाचनमा कुल १८२ सीट जितेर रास्वपा प्रतिनिधिसभामा सबैभन्दा ठूलो पार्टी बनेको छ।
वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा सरकार गठन हुँदा अर्याल मन्त्री बन्नसक्ने अनुमान धेरैले गरेका थिए। तर अहिले रास्वपाले उनलाई सभामुख पदमा अघि सारेको छ। लामिछानेका लामो समयदेखि सहयात्री सांसद दीपक बोहराका अनुसार अर्यालले जापानबाट नेपालमा मनी ट्रान्सफरको व्यवसाय सञ्चालन गर्दै आएका थिए। “उहाँले रवि दाइलाई ‘इजीलिङ्क मनी ट्रान्सफर’को ब्रान्ड एम्बेस्डर पनि बनाउनुभएको थियो,” सांसद बोहराले दुवैलाई लामो समयदेखि चिनेको बताउँछन्।
विसं २०७९ को स्थानीय निर्वाचनमा वालेन्द्र शाह ‘बालेन’, हर्क साम्पाङ, गोपी हमाललगायत स्वतन्त्र उम्मेदवार विजयी भएपछि रवि लामिछानेले ग्यालेक्सी टेलिभिजन छोडेर नयाँ राजनीतिक पार्टी गठन गरे। रास्वपा गठन हुँदा अर्याल रवि लामिछानेसँगै उभिएका थिए। बोहराका अनुसार रास्वपा गठन गर्ने प्रारम्भिक छलफलदेखि नै रवि र अर्याल सँगसँगै छन्। पछि अर्याल पार्टीको उपसभापति बने।






