
२० चैत, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। मालिका सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिनाको आरोपमा अधिकारीसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ मा रहेको मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम हिनामिनाको आरोपमा अख्तियारले बिहीबार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
अख्तियारले वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर बयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीले आपसी मिलेमतोमा रकम दुरुपयोग गरेको बताएको छ। आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको अवधिमा गैरकानुनी रूपमा रकम दुरुपयोग भएको देखिएको छ। “उनीहरुले समितिको निर्णय र बिल भर्पाइ बिना नै रकम खर्च गरेको, सडक निर्माणको काम योजना बिना र नक्कली कागजात मिलाएर भुक्तानी गरेको, लेखा परीक्षण नगरी लेखा परीक्षण शुल्क तिरेको पाइएको छ,” अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै, काठ बिक्री रकम समितिको खातामा जम्मा नगरेको, नर्सरी व्यवस्थापन, वन मुद्दाका लागि अधिवक्ता शुल्क र साक्षी खर्चका नाममा प्रमाणबिनै ठुलो रकम हिनामिना गरेको पनि अख्तियारको ठहर छ। उपभोक्ता समूहको सार्वजनिक सम्पत्ति कोषबाट मुद्दा तथा साक्षी खर्चका नाममा दुई लाख ८५ हजार खर्च गरिएको, वन समूहका अध्यक्षले वीरेन्द्रनगर बसाइको नाममा निजी स्वार्थ पूरामा ४१ हजार १६२ रुपैयाँ बुझि लिएर हिनामिना गरेको दाबी अख्तियारले गरेको छ। समितिका पाँचै जनाको मिलेमतमा १२ लाख १८ हजार ५१२ रुपैयाँ बराबरको हिनामिनाको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको जानकारी अख्तियारले दिएको छ।






