
संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गर्दा खसेका अवशेषले ७ नेपाली नागरिक घाइते भएका छन्। घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपाली गम्भीर घाइते छन्। आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको छ।
२० चैत, काठमाडौं। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम रहेको छ। एक नेपाली भने गम्भीर घाइते भएको गल्फ न्युज डटकमले जनाएको छ। सो घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइतेहरूको नामावली भने सार्वजनिक गरिएको छैन।
अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरूलाई सफलतापूर्वक अवरोध गरेको जनाएको छ। ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको बताइएको छ।
घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन भई प्रभावित क्षेत्रमा सुरक्षात्मक व्यवस्था कडा पारिएको छ भने घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भन्ने अधिकारीहरूले बताएका छन्। यसैबीच, आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा समेत अवशेष खस्दा आगलागी भएको र केही समयका लागि सञ्चालन रोकिएको जनाइएको छ। उक्त घटनामा भने मानवीय क्षति भएको छैन। सरकारी अधिकारीहरूले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्रै विश्वास गर्न र अपुष्ट खबर नफैलाउन आग्रह गरेका छन्।






