
२० चैत, काठमाडौं । नेकपा एमालेले संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा पार्टीले कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नगरेको स्पष्ट पारेको छ। शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले यस विषयमा सार्वजनिक रूपमा टिप्पणी नगर्न पनि पार्टीको तर्फबाट सबैलाई आग्रह गरेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार, बैठकले उक्त निर्वाचनमा पार्टीको कुनै प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको पुष्टि गरेको छ। ‘निर्वाचन समितिले तोकिएको प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित घोषणा गरेको हो,’ भट्टले भने, ‘हामी यो बैठकमार्फत स्पष्ट पार्न चाहन्छौं कि पार्टीको तर्फबाट कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप थिएन।’
साथै, उनले संसदीय दलको नेताको निर्वाचन सम्बन्धी सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति पार्टीले गम्भीर ध्यान दिएको पनि बताए। ‘चैत १८ गते सम्पन्न नेकपा एमाले संसदीय दल नेताको निर्वाचनका विषयमा सार्वजनिक सञ्चारमाध्यममा देखिएका प्रतिक्रियामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। दलको विधानअनुसार लोकतान्त्रिक विधिमार्फत निर्वाचन सम्पन्न भएको हो,’ उनले भने, ‘लोकतान्त्रिक रूपमा गरिएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रूपमा टिप्पणी नगर्न पार्टीका पंक्तिहरूलाई अनुरोध गर्दछौं। विशेषगरी युवा पंक्तिबाट आएका सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ।’
एमालेले संसदीय दलको नेतामा रामबहादुर थापालाई निर्विरोध चयन गरेको थियो। एमालेका युवा सांसद सुहाङ नेम्वाङले पनि उम्मेदवारी दिने तयारी गरेका थिए। तर समर्थक र प्रस्तावक नपाउँदा उनले अन्तिम समयमा उम्मेदवारी दर्ता गर्न सकेनन्। यस विषयमा एमालेका युवा पंक्तिले आपत्ति जनाउँदै आएको छ।






