Skip to main content

भेरी नदीमा डुबेर एसईई परीक्षार्थीको निधन

२० चैत, सल्यान। सल्यानमा एसईई परीक्षा दिन आएका एक विद्यार्थी भेरी नदीमा डुबेर निधन भएका छन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसी निवासी हरिभान बुढाथोकीका १६ वर्षीय छोरा सेतुराम बुढाथोकी शुक्रबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, सेतुराम मुक्ति माध्यमिक विद्यालय, हिलेपोखरीमा अध्ययनरत थिए। उनी बनगाड कुपिण्डे नगरपालिका–१ रहेको प्रभाकर माध्यमिक विद्यालय, देवस्थल केन्द्रबाट परीक्षा दिइरहेका थिए।

शुक्रबार परीक्षा सकेर फर्किएपछि उनी अपराह्न करिब ४:३० बजे भेरी नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा डुबेका उनलाई स्थानीयबासी र प्रहरीले संयुक्त रूपमा उद्धार गरी नगर अस्पताल लगिएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई मेहेलकुना अस्पताल, सुर्खेत रिफर गरिएको थियो। तर सुर्खेत पुगेपछि चिकित्सकले साँझ ६ बजे उनलाई मृत घोषित गरेका छन्।