Skip to main content

महाकालीमा बेपत्ता चन्दको शव भारतबाट फेला

२० चैत, बैतडी। महाकाली नदीमा बेपत्ता भएका बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बनना का ६४ वर्षीय कृष्णबहादुर चन्द चार दिनपछि मृत अवस्थामा फेला परेका छन्। चन्द गत मंगलबार बिहान साढे ११ बजे महाकाली नदीमा नुहाउने क्रममा हल्दुघाटबाट बगेर बेपत्ता भएका थिए। चन्दको शव महाकाली नदी किनारमा भारतीय क्षेत्रमा शुक्रबार फेला परेको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले जानकारी दिए।

भारतको चम्पावत जिल्लाको डुंगालेट्टी ग्राम पञ्चायतको सुगरखाल गाउँ नजिकै महाकाली नदी किनारमा चन्दको शव फेला परेको हो। यस क्षेत्रलाई पञ्चेश्वर गाउँपालिका–२ ढोयाघाटको पारीपट्टि रहेको बताइएको छ। महाकालीमा बगेर बेपत्ता भएका चन्दको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग पनि सहकार्य गरिएको थियो। एसएसबीको टोलीले नै उहाँको शव फेला पारेको जानकारी दिएको छ। –रासस