
२१ चैत, काठमाडौं । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । उक्त जिपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७, ङाबी भन्ने स्थानमा दिउँसो पौने ६ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ । उकालो चढिरहेको जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो । जिपमा चालकसहित १४ जना सवार रहेको डीएसपी बस्नेतले जानकारी दिएका छन् । सबै यात्रुहरू घटनास्थलमै घाइते भएका थिए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि लैजाँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मर्स्याङ्दी–७ उस्थाका ४० वर्षीया त्रिवेणी गुरुङ र सोही स्थानकी ३४ वर्षीया पुष्पा घले रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये गम्भीर तीन जनालाई चितवन अस्पतालमा रिफर गरिएको छ, डीएसपी बस्नेतले जानकारी दिएका छन् । साथै चालक करण अधिकारी पनि घाइते भएकोले दुर्घटनाका सबै कारणहरू खुल्न सकेका छैनन् उनले बताए ।






