सेयर बजार नखुल्दा पनि अर्डर दिन सकिने, सर्किट ब्रेकर सीमा ८ प्रतिशत पुर्याइयो

नेपाल धितोपत्र बोर्डले नियमित कारोबार समयपछि पनि सेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था गर्न लागेको छ। नेप्सेले कारोबार समय ३ बजे सकिएपछि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म अर्डर प्रविष्ट गर्न प्रस्ताव गरेको छ। धितोपत्र बोर्डले सेयर बजारको सर्किट ब्रेकरको सीमा ८ प्रतिशतमा पुर्याउने विनियमावली संशोधन प्रस्ताव गरेको छ। २२ चैत, काठमाडौं।
धितोपत्र बजारको नियमित कारोबार समयभन्दा बाहिर गएर पनि खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था हुँदैछ। यो व्यवस्था विदेशमा रहेका नेपाली र कार्यालय समयमा सेयर कारोबार गर्न नसक्ने लगानीकर्तालाई सहज बनाउन लक्षित गरिएको हो। कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नसकेको गुनासो आएकोले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नियमित कारोबार समयपछि पनि अर्डर प्रविष्ट गर्न सकिने व्यवस्था गर्न लागिएको बताए।
धितोपत्रको दोस्रो बजारमा पर्याप्त तरलता कायम गर्न र कारोबारको आकार बढाउन यसले मद्दत गर्ने उनले बताए। ‘नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द हुन्छ, तर नयाँ व्यवस्थापछि बजार बन्द भएता पनि खरिद बिक्री आदेश प्रविष्ट गर्न सकिनेछ’ उनले भने। यसरी खरिद/बिक्री आदेश दिने क्रममा कम्पनीको सेयर मूल्यतर्फ अन्तिम मूल्यभन्दा २ प्रतिशत बढी वा कम मूल्य तोक्न सकिने जानकारी उहाँले दिनुभयो।
सर्किट ब्रेकरको सीमा ८ प्रतिशतमा पुर्याइने नेपाल धितोपत्र बोर्डले सेयर बजार परिसूचक (नेप्से) को उतारचढाव नियन्त्रण गर्ने सर्किट ब्रेकरको सीमा ८ प्रतिशतमा पुर्याउन प्रस्ताव गरेको छ। बोर्डले नेप्सेको कारोबार विनियमावली संशोधन गर्दै सर्किट ब्रेकरको सीमा हालको भन्दा २ प्रतिशतले बढाएको छ।






