Skip to main content

चीन र कजाखस्तानतर्फ नेपाली बुद्धिचाल खेलाडीहरूको प्रस्थान

नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्षको नेतृत्वमा खेलाडीहरू चीनको साँघाई र कजाखस्तानको अल्माटीतर्फ प्रस्थान भएका छन्। अन्
अप्रिल ७ देखि १२ सम्म हुने साँघाई को–अपरेशन अर्गनाइजेशन अन्तर्राष्ट्रिय टिम चेस प्रतियोगितामा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ। सोही गरी अप्रिल ६ देखि ११ सम्म आयोजना हुने एसियन कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कूल टिम चेस प्रतियोगितामा पनि पाँच नेपाली खेलाडी सहभागी हुनेछन्। २२ चैत, काठमाडौं।

चीन र कजाखस्तान चेस फेडेरेशनको निमन्त्रणामा नेपाली बुद्धिचाल खेलाडीहरू आइतबार साँघाई र अल्माटीतर्फ प्रस्थान गरेका हुन्। नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्षको नेतृत्वमा चीन जान लागेको टोलीमा रापिड विधामा उच्च स्तरका खेलाडीहरू र नेपालको च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल, दोलखाका आशिष फुँयाल र महिलातर्फ पहिलो नम्बरकी कृतिसारा अधिकारी सहभागी छन्।

उक्त टोली आगामी अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौं साँघाई को–अपरेशन अर्गनाइजेशन अन्तर्राष्ट्रिय टिम चेस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो राष्ट्रिय विद्यालय चेस प्रतियोगिताका विजेता मार्भलस उच्च माध्यमिक विद्यालयका छात्र–छात्राहरू कजाखस्तानको अल्माटीतर्फ प्रस्थान गरेका छन्। उनीहरूले अप्रिल ६ देखि ११ तारिखसम्म हुने ‘एसियन कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कूल टिम चेस प्रतियोगिता’मा भाग लिनेछन्।

अन्तर्राष्ट्रिय जुनियर स्पर्धामा नेपालबाट पाँच खेलाडी सहभागी हुनेछन्। टोलीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन्। कन्टिनेन्टल प्रतियोगिताका लागि टोली व्यवस्थापकको रूपमा नेपाल बुद्धिचाल महासंघका रेटिङ अफिसर तथा अन्तर्राष्ट्रिय निर्णायक (आईए) निराजन प्रजापति छन भने प्रशिक्षकको जिम्मेवारी रिजेन्द्र राजभण्डारीले सम्हाल्नेछन्। दुवै टोलीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र प्रवक्ता राजु ताम्राकारले बिदाइ गर्दै शुभकामना व्यक्त गरेका थिए।