Skip to main content

सेयर बजारमा आतंक सृजना गर्ने प्रयास भए पनि डराउनु हुँदैन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित बनाउने प्रयास भइरहेको उल्लेख गर्दै लगानीकर्तालाई शान्त रहन अनुरोध गर्नुभएको छ। सरकारले अनैतिक क्रियाकलाप गर्नेहरूलाई मात्रै कानुन अनुसार कारबाही गर्नेछ र सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्र बनाउने योजना रहेको बताउनुभएको छ। वाग्लेले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न प्राथमिकता दिइएको र सम्पत्ति शुद्धीकरण जस्ता विषयमा मात्र तथ्यमा आधारित अनुसन्धान अघि बढाइएको स्पष्ट पार्नुभयो। २३ चैत, काठमाडौं।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भइरहेको स्पष्ट पार्नुभयो। आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारीहरूसँगको भेटमा वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने प्रयास भइरहेकाले नडराउन आग्रह गर्नुभयो। सरकारले लगानीकर्तामाथि कुनै दण्डात्मक कदम चाल्ने उद्देश्य नराखेको बताउँदै अनैतिक काम गर्नेहरूलाई मात्र कानुन अनुसार कारबाही हुने जानकारी दिनुभयो। “सेयर बजार नेपालका अन्य क्षेत्रको तुलना गर्दा बढी व्यवस्थित र पारदर्शी छ,” उहाँले भन्नुभयो, “पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा पठाउने, कर प्रणाली स्पष्ट तथा किनबेच गर्नेहरूको पहिचान ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ।”

सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा लिएको उल्लेख गर्दै, यदि कसैले इन्साइडर ट्रेडिङ, बजार म्यानिपुलेसन वा अन्य अनैतिक क्रियाकलाप गरेको पाइए कानुन अनुसार कारबाही गरिने स्पष्ट पारे। “हाल लगानीकर्ताले प्यानिक हुनु आवश्यक छैन, अघि बढेर सेयर बजार सुधारका लागि पनि काम हुनेछ,” उहाँले भन्नुभयो। नेप्से पुनर्संरचना प्रतिवेदनको अध्ययन गरेर सुधार प्रक्रिया अगाडि बढाइने बताउनुभयो। “राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्न लागेका छौं, यसले सेयर बजारप्रतिको हाम्रो उदारता झल्काउँछ,” उहाँले उल्लेख गर्नुभयो। बजारमा सुनौलो दिन आउने विश्वास पनि व्यक्त गर्नुभयो। अहिले सरकारको प्राथमिकता मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको उहाँले बताए। “ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्ने विषयमा केवल कागजमा मात्र कुरा गर्ने तर व्यवहारमा छैन भन्ने धारणा छ, तर हामी लागू गर्ने चरणमा पुगेका छौं,” उहाँले भन्नुभयो। सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधमा आधारित प्रमाणका आधारमा मात्रै अनुसन्धान अघि बढाइएको स्पष्ट पार्नुभयो। “संस्था वा व्यक्ति चयन गरेर दुःख दिन हाम्रो कुनै इच्छा छैन। हामी खुला बजारमा आधारित अर्थनीति अपनाउँछौं जुन छाडा अर्थतन्त्र होइन,” उहाँले जोड दिनुभयो। कानूनी प्रक्रिया अदालतबाट हुने भएकाले कसैलाई लक्षित गरेर नभई कानुन अनुसार कारबाही गरिने उहाँको भनाइ छ।