
नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिले सन् २०२६ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गरेको छ। क्यानले २०८३ सालको वैशाख २७ र २८ गते विराटनगरमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको छ।
२३ चैत, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम र बजेट अनुमोदन गरेको छ। बैठकले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार अवधि थप गर्न र हाल राष्ट्रिय खेलकुद परिषदअन्तर्गत सञ्चालन हुँदै आएको तल्लो मूलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, “त्रिभुवन विश्वविद्यालयसँगको करार अवधि समाप्त हुन लागेको उक्त मैदानलाई सरकारले उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न क्रिकेट रंगशालाको पहिलो चरणको काम सम्पन्न भई फ्लड लाइट समेत जडान भइसकेको र त्यो मैदान नेपाली क्रिकेटको विकासका लागि आवश्यक भएकाले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको करार सम्झौता अवधि थप गर्न अनुरोध गर्ने निर्णय गरिएको छ।”
त्यसैगरी, चार वर्षे कार्यकाल सकिएका २० जिल्लाका कार्यसमितिको म्याद जेठ मसान्तसम्म थप गरिएको र साधारण सभापछि अनिवार्य रूपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिने निर्णय पनि गरिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आय–व्यय विवरण अनुमोदन गरिएको छ। एनपीएलबाट कुल ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको र करिब २१ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ। खर्च कटाएर करिब २५ करोड ३९ लाख रुपैयाँ बाँकी रहेको छ। ८ फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत रकम वितरण गरिएको छ भने क्यानलाई करिब ९ करोड २१ लाख रुपैयाँ प्राप्त हुनेछ। यसका साथै, आईसीसीको निर्देशनअनुसार महिला क्रिकेट विकासका लागि वार्षिक ५ लाख अमेरिकी डलर लगानी गर्ने निर्णय पनि गरिएको छ।






