Skip to main content

रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते, तीन जना पक्राउ

फाइल फोटो २४ चैत, बुटवल। रुपन्देहीमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। घाइते व्यक्ति रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरिया निवासी विशाल यादव हुन्। बायाँ खुट्टाको पिडुलामा गोली लागेर घाइते यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार रोहिणी गाउँपालिका ४ कोटहवा क्षेत्रमा लागुऔषध ओसारपसारको सूचनाका आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा उनीहरू भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो।

लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार भएपछि प्रहरीले एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली चलाएर लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको डीएसपी चन्दले बताएका छन्। प्रहरीले गोली चलाएर विशाल यादव, भारत तुलसीपुर महाराजगञ्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी डीएसपी चन्दले दिएका छन्।

डीएसपी चन्दका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। प्रहरीले काठमाडौँको गौशाला-पिंगलास्थान क्षेत्रमा लागुऔषध कारोबारको आशंकामा गोली चलाएर दुई भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ।