Skip to main content

दाङमा निर्माण हुँदैछ पहल थिएटर

२४ चैत, काठमाडौं । सञ्चारकर्मी एवम् चलचित्रकर्मी केएल बुढाथोकीको पहलमा दाङको घोराहीमा पहल थिएटर निर्माण कार्य सुरु गरिएको छ। सामुदायिक कला, संस्कृति र रंगमञ्चको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको यो थिएटरले क्षेत्रीय कला गतिविधिलाई नयाँ उचाइ दिने अपेक्षा रहेको बुढाथोकी बताउँछन्। निर्माण संयोजक बुढाथोकीका अनुसार पहल थिएटरलाई सामुदायिक कलाघरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसमा नाटक मञ्चनका साथै, चलचित्र प्रदर्शन, साहित्यिक कार्यक्रम, सांगीतिक प्रस्तुति तथा विभिन्न सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरिनेछ। यसले स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च उपलब्ध गराउनेछ भने नयाँ पुस्तालाई कला–संस्कृतिप्रति आकर्षित गर्ने विश्वास गरिएको छ। करिब एक वर्षमा थिएटर निर्माण गरिसक्ने लक्ष्य लिइएको बुढाथोकीले बताए। जनस्तरको सहयोग र सहभागितामा थिएटर निर्माण हुँदै गरेको उनले जानकारी दिए। यस परियोजनाले दाङलाई भविष्यमा एउटा सशक्त सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बुढाथोकीको छ।