Skip to main content

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएकी छन्। शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेको र आज बिहान नहरमा शव फेला परेको प्रहरीले जनाएको छ। २४ चैत, ढोरपाटन (बागलुङ) ।

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाहीको भिरबाट लडेर मृत्यु भएको हो। शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी थिइन् र आज बिहान उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिएका छन्।

शाही काम गरेर साँझ घर नफर्किने क्रममा भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको छ। राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी थालेका थिए। आज बिहान ९ः०० बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताए। अप्ठ्यारो बाटोमा यात्रा गर्दा उनी उछिट्टिएर नहरमा खसेकी हुन् भन्ने उनको भनाइ छ।

‘नहरमाथि भिर रहेको स्थानमा साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखिन्छ, साथै पछ्यौरा र कोदालोसहितका केही सामान पनि भिरमा अड्किएका अवस्थामा फेला परेका छन्,’ उनले भने। शाहीको शव परीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पतालमा लैजाने तयारी गरिएको छ। शाही करिब ५० मिटर तल नहरमा खसेकी थिइन्।