Skip to main content

इरानीहरूले पुल र ऊर्जा केन्द्रहरू जोगाउन मानव साङ्लो बनाए, रातभर जाग्राम बसे

अमेरिकाले आक्रमणको धम्की दिएपछि इरानका विभिन्न स्थानमा रहेका प्रमुख ऊर्जा केन्द्रहरू (पावर प्लान्ट) र पुलहरूको वरिपरि मानिसहरूले छुट्टाछुट्टै मानव साङ्लो बनाएर रातभर जाग्राम बसे। इरानी राष्ट्रपति मसूद पेजेस्कियनले १ करोड ४० लाख स्वयंसेवकले देशका लागि लड्न नाम दर्ता गराएको जानकारी दिएका छन्। अमेरिका र इरानबीच २ हप्ताको युद्धविराम तथा कूटनीतिक वार्तामा सहमति भएको छ।

२५ चैत, काठमाडौं। इरानलाई होर्मुज जलसन्धि खोल्न वा नागरिक पूर्वाधारहरूमा भीषण आक्रमणको सामना गर्न डोनाल्ड ट्रम्पले धम्की दिएपछि इरानी अधिकारीहरूले युवाहरूलाई देशका ऊर्जा केन्द्रहरू वरिपरि मानव साङ्लो बनाउन आह्वान गरेका थिए। इरानी सञ्चारमाध्यमहरूले तेहरान नजिकै रहेको देशको सबैभन्दा ठूलो ऊर्जा केन्द्रलगायत उत्तर-पश्चिमको ताब्रिजमा मानिसहरू विद्युत् केन्द्रहरू बाहिर जम्मा भई इरानी झन्डा फहराइरहेको र ब्यानर बोकेको देखाएका छन्।

दक्षिण-पश्चिमको डेजफुलमा, १,७०० वर्ष पुरानो पुलमा मानिसहरू भेला भएका थिए। समाचार संस्था एपीका अनुसार, इरानका राष्ट्रपति मसूद पेजेस्कियनले १ करोड ४० लाख मानिसले आफ्नो देशका लागि लड्न स्वयंसेवकको रूपमा नाम दर्ता गराएको र ‘इरानको रक्षाका लागि आफ्नो ज्यान आहुति दिन तत्पर रहेको’ घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपतिले ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुनेछ’ भनी धम्की दिएपछि यी तयारीहरू सुरु भएका थिए।

मानव साङ्लो प्रदर्शन देशका विभिन्न स्थानमा रहेका प्रमुख ऊर्जा केन्द्रहरू र पुलहरूको वरिपरि गरिएको थियो। सार्वजनिक भएका प्रारम्भिक तस्बिर र भिडियोहरूमा बुशेहर (पारमाणविक केन्द्र), हमदानको शहिद मोफत्तेह पावर प्लान्ट, कर्मानशाहको बिसोटुन पावर प्लान्ट, सेम्नानका विद्युत् प्रसारण केन्द्रहरू, लोरदेगान र अह्वाजको ह्वाइट ब्रिज जस्ता प्रमुख स्थानहरूमा दर्जनौँ नागरिक, युवा, खेलाडी र स्थानीयहरूले हातेमालो गरेर मानव साङ्लो बनाएको देखिन्छ।

ट्रम्पले सम्झौताको लागि अझै समय रहेको भने पनि मंगलबारको बमबारीले इरानी सत्ताभित्र सम्झौताको पक्षमा रहेका मानिसलाई कमजोर बनाउँदै कट्टरपन्थीहरूलाई बलियो बनाएको कूटनीतिज्ञहरूले बताएका छन्। तथापि, मुख्यतः पाकिस्तानमार्फत अप्रत्यक्ष वार्ता जारी छ।