Skip to main content

अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले इरानमाथि दुई हप्ताका लागि कुनै सैन्य कारबाही नगर्ने घोषणा गरेका छन् । यस निर्णयसँगै इजरायलले पनि आक्रमण रोक्ने सहमति जनाएको ट्रम्पले बताएका छन् । उनले अमेरिका र इरानबीच युद्धविराम भएको पुष्टि गर्न इरानका विदेशमन्त्री अब्बास अरघचीको वक्तव्य पनि ट्रुथ सोसलमा सेयर गरेका छन् । अरघचीले उक्त वक्तव्यमा भनेका छन्, ‘यदि इरानमाथि आक्रमण रोकियो भने, हाम्रो शक्तिशाली सशस्त्र बलले आफ्ना रक्षात्मक गतिविधिहरू स्थगित गर्नेछ । साथै, आगामी दुई हप्तासम्म स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत इरानको सैन्य समन्वयमा सम्भव हुनेछ।’

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो वक्तव्य सार्वजनिक गरेका छन् । उनले भनेका छन् कि इरानमाथि दुई हप्ताका लागि आक्रमण स्थगित गरिएको छ । यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि भएको हो, जसमा उनीहरूले सम्भावित आक्रमण टार्न आग्रह गरेका थिए । ट्रम्पले लेखेका छन्, ‘प्रधानमन्त्री शहबाज शरीफ र फील्ड मार्शल असिम मुनिरसँग भएको संवादमा उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्तिलाई रोक्न आग्रह गरेका थिए। साथै, इरानले स्ट्रेट अफ होर्मुजलाई पूर्ण, तत्काल र सुरक्षित रूपमा खुला गर्ने सर्तमा म इरानमाथि गर्ने बमबारी र आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्न सहमत भएको छु। यो दुवै पक्षबाट हुने युद्धविराम हुनेछ।’

दीर्घकालीन समस्याको समाधान नजिक ट्रम्पले थप लेखेका छन्, ‘यस निर्णयको कारण यो हो कि हामीले सैन्य उद्देश्यहरू धेरै पहिल्यै पूरा गरिसकेका छौं र दीर्घकालीन शान्तिसम्बन्धी स्पष्ट सहमतितर्फ निकै अघि बढेका छौं। हामीलाई इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको छ, जसलाई वार्ताका लागि व्यवहारिक आधार मानिएको छ।’ उनले भनेका छन् कि अमेरिका र इरानबीचका अधिकांश विवाद विषयहरूमा सहमति भइसकेको र दुई हप्ताको समयमा अन्तिम सहमति तयार गरी कार्यान्वयनमा मद्दत हुने विश्वास व्यक्त गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘अमेरिकाका राष्ट्रपतिको हैसियतमा साथै मध्यपूर्वका देशहरूको प्रतिनिधित्व गर्दै म यो दीर्घकालीन समस्याको समाधान नजिक पुगेको देख्दा गर्व अनुभव गर्छु।’

ट्रम्पको यो घोषणा सम्झौताका लागि दिएको अन्तिम समयसीमा सकिनुअघि आएको हो। यसअघि उनले इरानविरुद्ध कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त’ पार्ने धम्की दिएका थिए, जसलाई परमाणु आक्रमणको संकेतका रुपमा पनि व्याख्या गरिएको थियो। उक्त अभिव्यक्तिको अमेरिकाभित्र आलोचना भएको थियो।

ह्वाइट हाउसको प्रतिक्रिया युद्धविराम घोषणा पश्चात ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वार्ताका प्रक्रिया जारी रहने बताएकी छन्। उनका अनुसार आगामी दिशा राष्ट्रपति ट्रम्पका अभिव्यक्तिद्वारा निर्धारण गरिनेछ। लेभिटले अमेरिकी प्रशासनले इरानलाई स्ट्रेट अफ होर्मुज खुला गर्न सहमत गराएको र अब थप कूटनीतिक संवादको बाटो खुल्ने उल्लेख गरेकी छन्। आगामी वार्ता शुक्रबार पाकिस्तानमा हुने बताइएको छ। यद्यपि, उक्त वार्ताले ठोस परिणाम दिने वा नदिने विषयमा अन्तर्राष्ट्रिय समुदायमा चासो कायमै छ।