Skip to main content

एप्पलविरुद्ध युट्युब सिर्जनाकर्ताहरूले कपीराइट उल्लङ्घन मुद्दा दायर गरे

तीनजना प्रख्यात युट्युब सिर्जनाकर्ताहरूले क्यालिफोर्नियाको अदालतमा एप्पलविरुद्ध कपीराइट उल्लङ्घनको मुद्दा दायर गरेका छन्। उनीहरूको आरोपअनुसार एप्पलले युट्युबको सुरक्षा प्रणाली उल्लङ्घन गर्दै लाखौँ भिडियो सामग्री आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणलाई तालिम दिन प्रयोग गरेको छ। युट्युब सिर्जनाकर्ता टेड इन्टरटेन्मेन्ट, म्याट फिसर र गल्फहोलिकले एप्पलमाथि कपीराइट कानून उल्लङ्घनको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन्।

उनीहरूको दाबी अनुसार, एप्पलले आफ्नो जेनेरेटिभ एआई मोडेललाई प्रशिक्षण दिन युट्युबका भिडियो सामग्री अवैध रूपमा प्रयोग गरेको छ। मुद्दा दायर गर्ने सिर्जनाकर्ताहरूले भनेका छन् कि एप्पलले युट्युबको प्रविधिक सुरक्षा उपायहरू (टिपिएम) उल्लङ्घन गर्दै “पान्डा-७० एम” नामक डेटासेटमार्फत ३० लाखभन्दा बढी भिडियो क्लिपहरूमा अवैध पहुँच प्राप्त गरेको छ। उनीहरूले युट्युब सामग्रीको यस्तो अनधिकृत प्रयोग रोक्न र क्षतिपूर्ति दिन अदालतमा माग गरेका छन्।

एप्पलमाथि आरोप छ कि उसले स्वचालित उपकरणहरूको प्रयोग गरेर युट्युबका क्याप्चा तथा रेट लिमिट जस्ता सुरक्षा प्रणालीहरूलाई छल्दै ठूलो मात्रामा डेटा संकलन गरेको छ। एप्पलले आईपी ठेगाना परिवर्तन गरी र वैधानिक अनुरोधहरूको नक्कल गरेर डेटा निकास गरेको समेत आरोप लगाइएको छ, जुन अमेरिकास्थित डिजिटल मिलेनियम कपीराइट एक्टको उल्लङ्घन हो। मुद्दाको केन्द्रबिन्दु पान्डा-७० एम नामक डेटासेट हो, जसमा करिब ३० लाख युट्युब भिडियोहरूको रेफरेन्स समावेश गरिएको छ।

सिर्जनाकर्ताहरूले बताएका छन् कि युट्युब सामग्री एकपटक एआई मोडेलमा प्रयोग भएपछि त्यो फिर्ता लिन असम्भव हुन्छ, जसले सर्जकको बौद्धिक सम्पत्तिमाथि नियन्त्रण गुम्ने खतरा पैदा गर्छ। त्यसैले उनीहरूले युट्युब सामग्रीबाट विकसित एप्पलका एआई उत्पादनहरूमा प्रतिबन्ध लगाउन अदालतसँग माग गरेका छन्। साथै, सामग्रीको अनधिकृत प्रयोगको लागि उचित क्षतिपूर्ति दिन समेत उनीहरूले अनुरोध गरेका छन्।