Skip to main content

डा. सितलकाजी श्रेष्ठलाई एनभीए राष्ट्रिय मानार्थ २०२६ सम्मान प्रदान

नेपाल भेटेरिनरी एसोसिएसनले आफ्नो १६औं राष्ट्रिय सम्मेलनमा पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठलाई एनभीए राष्ट्रिय मानार्थ २०२६ सम्मान प्रदान गरेको छ। रुपन्देहीको तिलोत्तमामा सुरु भएको सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले डा. श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन्। डा. श्रेष्ठले भेटेरिनरी सेवालाई आवश्यक सेवाको सूचिमा समावेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भने सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको स्थापना समेत उहाँले गर्नुभएको छ।

२७ चैत, काठमाडौं। भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठले राष्ट्रिय स्तरबाट मानार्थ सम्मान पाएका छन्। नेपाल भेटेरिनरी एसोसिएसनले आफ्ना १६औं राष्ट्रिय सम्मेलनको अवसरमा डा. श्रेष्ठलाई एनभीए राष्ट्रिय मानार्थ २०२६ सम्मान प्रदान गरेको हो। रुपन्देहीको तिलोत्तमामा २७ चैतदेखि सुरु भएको दुई दिने राष्ट्रिय सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो सम्मान व्यक्त गर्नुभयो।

नेपालको भेटेरिनरी पेशामा छोटो अवधिमा डा. श्रेष्ठले पुऱ्याएको योगदान अत्यन्त उल्लेखनीय छ। विशेष गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको भेटेरिनरी पेशाले खेल्ने भूमिकामा उहाँले पुऱ्याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो। डा. श्रेष्ठ नेपाल भेटेरिनरी एसोसिएसनको ६० वर्षे इतिहासमा सबैभन्दा कम उमेरमा निर्वाचित हुनुभएका पूर्वअध्यक्ष हुनुहुन्छ र सात वर्षसम्म निरन्तर ३ कार्यकाल पुरा गर्ने अद्वितीय उपलब्धि हासिल गर्नुभएको छ। उहाँले आफ्नो पहलमा सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको स्थापना समेत गर्नुभएको छ। त्यस्तै, एसोसिएसनले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. भूमिनन्द देवकोटालाई पनि पशु प्रजननमा उल्लेखनीय योगदान पुऱ्याएकोमा सम्मान गरेको थियो।