Skip to main content

बागमती प्रदेशमा गाडी भाडा वृद्धिको सिफारिस, उपत्यकामा न्यूनतम भाडा २३.९३ रुपैयाँ पुग्ने

बागमती प्रदेश सरकारको सिफारिसअनुसार काठमाडौं उपत्यकामा न्यूनतम गाडी भाडा २५.९६ प्रतिशतले वृद्धि गरी २३.९३ रुपैयाँ पुर्‍याउने तयारी छ। प्रदेश यातायात मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीमा १२.३९ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशत भाडा वृद्धि गर्ने सिफारिस गरेको छ। विद्युतीय सवारीसाधनको भाडादर १ वैशाख २०७९ मा निर्धारण गरिएको दरमै कायम रहनेछ र भाडा समायोजनका लागि प्रदेश राजपत्रमा प्रकाशनको तयारी भइरहेका छन्।

२७ चैत, काठमाडौं। बागमती प्रदेशभित्र गाडी भाडा बढाउने तयारी भइरहेको छ। बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाको उपस्थितिमा बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले काठमाडौं उपत्यकामा न्यूनतम भाडादरमा २५.९६ प्रतिशत वृद्धि गर्ने सिफारिस गरेको छ। हाल उपत्यकाको न्यूनतम भाडादर (०–५ किलोमिटर दूरीका लागि) १९ रुपैयाँ छ, जुन अब २३.९३ रुपैयाँ पुग्नेछ।

प्रदेश यातायात मन्त्रालयका महाशाखा प्रमुख प्रविण श्रेष्ठका अनुसार भाडा दर बढाउने सिफारिस गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ काठमाडौंमा रहेका छन् र भाडादर स्वीकृतिका लागि तयारी भइरहेको उनको निजी सचिव भक्त भण्डारीले जानकारी दिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उपसचिव भुवन न्यौपानेले भाडादर स्वीकृतिका लागि प्रदेश राजपत्रमा प्रकाशनको तयारी मुख्यमन्त्री कार्यालयबाट भइरहेको बताए। यसअघि काठमाडौंमा ७ भदौ २०८० मा भाडा समायोजन गरिएको थियो।

नयाँ सिफारिस अनुसार बागमती प्रदेशमा पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा १२.३९ प्रतिशतले वृद्धि हुनेछ। काठमाडौं उपत्यका बाहेकका यात्रुवाहक सार्वजनिक सवारीमा १७.३५ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशत भाडा वृद्धि प्रस्तावित छ। बागमती प्रदेशभित्र चल्ने विद्युतीय सवारीसाधनको भाडा १ वैशाख २०७९ मा निर्धारण गरिएको दरमै कायम रहनेछ। इन्धन मूल्यमा व्यापक बृद्धिसँगै यातायात व्यवसायीहरूले भाडा समायोजनको लागि निरन्तर दबाब दिइरहेका छन्। त्यही आधारमा केन्द्र सरकारले यसै साता लामो दूरीका यातायात भाडा पनि बढाएको छ।