Skip to main content

सचिव देवकोटा: नीति निर्माण र कार्यान्वयनबीचको खाडल घटाउन आवश्यक

समाचार सारांश: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचको खाडल कम गर्नुपर्ने बताएका छन्। डा. देवकोटाले अनुसन्धान, कार्यान्वयन र अनुगमन एउटै संरचनाबाट समन्वय गर्नुपर्नेमा जोड दिएका छन्। उनले परिवर्तनको सुरुवात व्यक्तिगत व्यवहार सुधारबाट हुनुपर्ने तथा अनुसन्धानले सरकारको १०० बुँदे कार्यदिशा र घोषणापत्रमा आधारित हुनुपर्ने बताए। २९ चैत, काठमाडौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनबीच देखिएको खाडल घटाउन आवश्यक रहेको बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) द्वारा आयोजना गरिएको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ को समापन समारोहमा उनले नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताए। देश स्थिरताको चरणतर्फ उन्मुख भएपछि नयाँ सोचसहित प्रणाली लागू गर्न अवसर आएको उल्लेख गरे।

सुशासनसँग सम्बद्ध नीति र नियम बनाउँदै तिनको कार्यान्वयन गरी सेवा प्रवाहमा जोड दिनुपर्नेमा उनले जोड दिए। साना परिवर्तनबाट सुरुवात हुने उल्लेख गर्दै सबैले आफ्नो व्यक्तिगत व्यवहारमा सुधार गर्न आग्रह गरे। ‘हामी अहिले फरक अवस्थामा छौं, देश स्थिरतर्फ अगाडि बढिरहेको छ। नयाँ अवसरहरू आएका छन्, हामीले धेरै काम गर्यौं र तिनको समीक्षा गर्यौं। अब नयाँ सोचसहित नयाँ प्रणाली आयो, त्यसलाई आधार बनाउँदै तथ्य निर्माण गर्नुपर्छ,’ सचिव देवकोटाले भने।

‘एनएचआरसीले राम्रो काम गर्दै आएको छ, यहाँ संलग्नतामा हरेक वर्ष उत्कृष्ट काम हुन सक्छ। तर केन्द्रीकृतदेखि प्रदेशसम्म फैलिएको, अनुसन्धान, कार्यान्वयन र अनुगमन एउटै परिषद्को पिंढीतर्फ समन्वय गर्नु आवश्यक छ,’ उनले भने। थपे, युवाहरू अनुसन्धानमा संलग्न हुँदा पनि सेवा विस्तारमा पनि ध्यान दिन जरुरी छ। ‘ठूला योजना र सोच राख्नुपर्छ, तर सुरुवात सानोबाट गर्नुपर्छ,’ उनी भन्छन्, ‘सबैभन्दा पहिला आफ्नै व्यवहार परिवर्तन जरूरी छ। आगामी दिनमा हुने अनुसन्धान सरकारको १०० बुँदे कार्यदिशा र घोषणापत्रमा आधारित हुनुपर्छ जुन सेवा सुधारमा सहयोगी हुनेछ।