Skip to main content

‘राम नाम सत्य’ को कमाइबारे वितरकको प्रतिक्रिया के छ?

फिल्म ‘राम नाम सत्य’ले नयाँ वर्ष २०८३ को अवसरमा सुरुवाती दुई दिनमा राम्रो व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिनुभएको छ। अभिनेता विराज भट्टले काठमाडौंका विभिन्न हलहरूमा दर्शकको हुटिङ र समर्थन पाएर उत्साहित हुनु भएको छ। फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी लगायतका कलाकारले अभिनय गरेका छन् र माइकल चन्दले निर्देशन गरेका छन्।

काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा उत्कृष्ट ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन्। शुक्रबारको तुलनामा शनिबारको व्यापारमा वृद्धि भएको शाहीले बताएका छन्। माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारहरूको अभिनयलाई दर्शकले मन पराएका छन्। दर्शकले फिल्मको एक्सनलाई बलिउडसँग तुलना गरेका छन्।

शनिबार अभिनेता विराज भट्ट काठमाडौंका विभिन्न हलहरूमा पुगे। अष्टनारायण हलमा १२ सयभन्दा बढी दर्शक विराजलाई घिरेका थिए। अष्टनारायणको हजार सिट भएको हलमा दर्शक पूरै भरिएपछि ५ सय सिट भएको अर्को हलमा फिल्म पनि लगाइएको थियो। विराज पुगेपछि दर्शकहरूले हुटिङ गर्दै उत्साह व्यक्त गरेका थिए। उपेन्द्र शाही र श्वेता बिमलीको निर्माणमा तयार भएको यो फिल्म हेरेर निस्केका दर्शकले सकारात्मक प्रतिक्रिया दिएपछि विराज भट्ट उत्साहित देखिएका छन्। उनले भने, ‘मलाई सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने थाहा थिएन। तर, दर्शकले फिल्मलाई मन पराउनु भएको छ। यसले हामीलाई धेरै उत्साहित बनाएको छ।’

निर्माताहरू नयाँ वर्षको दिनमा फिल्मको कमाई अझ बढ्ने आशा गरिरहेका छन्। काठमाडौं बाहिरका हलहरूमा पनि फिल्मको व्यापार राम्रो रहेको वितरक कुवेर फिल्म्सले बताएको छ। यो फिल्ममा विराजसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्। सह-निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह-निर्माताको रूपमा संलग्न छन्। मोती कार्की क्रियटिभ निर्माता हुन् भने राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रूपमा कार्यरत छन्। काफिया फिल्म्स र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गरेको यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ।