
कैलालीको गौरीफन्टा नाकामा भारतबाट फर्कँदै गरेकी सुनिता कुमालसँग बढी भाडा असुल्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अटो चालक केशव सिंह रावल र सहचारी भूगालीराम चौधरीले कुमाललाई गौरीफन्टा नाकाबाट धनगढी बसपार्कसम्म १५०० भारतीय रुपैयाँ लिएको स्वीकार गरेका छन्। जिल्ला प्रहरी कार्यालयले दुबैलाई नियन्त्रणमा राख्दै थप अनुसन्धान गरिरहेको र रकम फिर्ता गरिने तयारीमा रहेको जनाएको छ। २९ चैत, धनगढी।
गौरीफन्टा नाकामा आइतबार बिहान भारतबाट फर्किने क्रममा बाजुराको बूढीगंगा नगरपालिका-८ की सुनिता कुमालसँग अस्वभाविक रूपमा बढी भाडा असुल्ने अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले अटो चालक केशव सिंह रावल र उनका सहयोगी भूगालीराम चौधरीलाई नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले दुबैलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाइएको बताए।
उनका अनुसार दुबैले कुमालसँग गौरीफन्टा नाकाबाट धनगढी बसपार्कसम्म पुर्याउँदा १५०० भारतीय रुपैयाँ लिएको स्वीकार गरेका छन्। उनीहरूले कुमालको झोला गौरीफन्टा नाकाबाट वारीसम्म बोकेर ल्याएको समेत बताएका छन् र त्यसको एवजमा रकम लिएको बताएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले दुबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जानकारी दिएका छन्।
उनका अनुसार भारतबाट फर्किएकी पीडित बाजुरा हिडिसकेकै कारण कारबाहीका लागि जाहेरी नपरेको तर रकम फिर्ता गरिने तयारी रहेको छ। उजुरी आएमा थप कारबाही गरिने र नभएमा सम्झाइबुझाइ गरेर छाडिने प्रहरीको तयारी छ।






