अमेरिकाले होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा, इरानबाट कडा प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो मार्ग हुँदै जान खोज्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने बताएका छन्। ट्रम्पका अनुसार, विशेषगरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूमाथि कडा निगरानी राखिनेछ। उनले इरानलाई गैरकानुनी रूपमा टोल तिर्ने जहाजहरूलाई सुरक्षित बाटो नदिइने बताए। यसबाट इरानको आर्थिक शक्ति कम गरिने उनको तर्क छ।
ट्रम्पले अमेरिका जुनसुकै परिस्थितिको लागि तयार रहेको र आवश्यकता परे युद्ध समाप्त गर्न कदम चालिने पनि बताएका छन्। यसअघि इरानका उप-सभामुख हाजी बाबाईले यो जलसन्धि इरानको नियन्त्रणमा रहेको बताएका थिए। उनले यसलाई तेहरानको ‘रेड लाइन’ भन्दै यहाँबाट यात्रा गर्ने जहाजहरूले इरानी मुद्रा रियालमा टोल तिर्नुपर्ने उल्लेख गरेका थिए।
हिजो पाकिस्तानमा इरान र अमेरिकाबीच करिब २१ घण्टासम्म चलेको शान्ति वार्ता निष्कर्षविहीन बनेको छ र त्यसपछि दुवै पक्षले एकअर्काविरुद्ध कडा अभिब्यक्ति दिएका छन्। रिपोर्टहरूका अनुसार होर्मुज जलसन्धि खुला गर्ने र आणविक कार्यक्रमको विषयमा दुई देशबीच वार्ता अड्किएको छ। यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले होर्मुज स्ट्रेटको नाकाबन्दी गर्ने धम्कीमाथि प्रतिक्रिया दिँदै भनेका छन्, ‘अहिले पेट्रोलको जुन मूल्य छ, त्यसको मज्जा लिनुहोस्।’
गालिबाफले आफ्नो ट्विटर एकाउन्टमा लेखेका छन्, ‘हालको पेट्रोलको मूल्य हेरिराख्नुहोस्, किनकि यस तथाकथित नाकाबन्दीपछि छिट्टै तपाईंहरूलाई प्रति ग्यालन ४-५ डलरको पेट्रोल पनि सस्तो लाग्न थाल्नेछ।’
अमेरिकाले सोमबारदेखि इरानी बन्दरगाहहरूको नाकाबन्दी गर्ने घोषणा गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि आएको छ। सुरुवाती कारोबारमा अमेरिकी क्रुड आयल ८ प्रतिशतले बढेर १०४.२४ डलर प्रति ब्यारेल पुगेको छ भने अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुड ७ प्रतिशतले बढेर १०२.२९ डलर प्रति ब्यारेल पुगेको छ।






