
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा काठमाडौंको ठमेलमा ‘ठमेल सडक महोत्सव’ आयोजना गरिने तयारी चलिरहेको छ। ठमेल पर्यटन विकास परिषद्ले त्रिदेवी मार्गस्थित सडकमा ३२ वटा स्टल राखेर खाना र वस्तु प्रदर्शनी गर्ने योजना बनाएको छ। साँझ ६:०० बजेदेखि सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने र राति १२:३० बजे महोत्सव सम्पन्न हुने परिषद्ले जानकारी दिएको छ।
संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ आयोजना गर्न लागिएको हो। परिषद्को उपाध्यक्ष सहदेव धमलाले (विमल) नयाँ वर्षलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएका छन्। ‘नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलको सडकमा विभिन्न स्टल राखेर खाना र वस्तु प्रदर्शनी गर्नुका साथै मौलिक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ,’ उपाध्यक्ष धमलाले भने।
उनका अनुसार त्रिदेवी मार्गस्थित सडकमा ३२ वटा स्टल राखेर खानाका प्रवर्द्धन र सामान बिक्री गरिनेछ। साथै, साँझ ६:०० बजेदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्ष स्वागत गरिनेछ र राति १२:३० बजे महोत्सव समापन गरिने छ। नेपालको पर्यटक क्षेत्रका लागि मुख्य गन्तव्य मानिने ठमेलमा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशतले यस ठाउँको भ्रमण गर्ने गरेको उल्लेख गर्दै, उक्त महोत्सवमा स्थानीय तथा विदेशी पर्यटकको उल्लेखनीय सहभागिता रहने परिषद्ले जनाएको छ।






