Skip to main content

महिला उद्यमशीलतालाई प्रस्तुत गर्दै नाटक टोलीले पश्चिम नेपालमा प्रदर्शन गर्‍यो

सुन्तला र खैरो रङको कम्बो सेट लुगा लगाएका, क्याप लगाएका ८ जना संगीतमा झुमिरहेका देखिन्छन्। उनीहरू गाउँले परिवेशमा छन्, सडकमा छन्, चौतारीमा छन्। बजा बजाउँदै गाएका छन्, नाचेका छन्। र, उनीहरूलाई हेर्ने/सुन्ने दर्शकहरू पनि उल्लेख्य संख्यामै छन्। यो दृश्य कथाघेराको ‘बाटै बाटो’ नामक सडक नाटक मञ्चनको हो। कथा घेरा काठमाडौंमा अवस्थित नाटकघर हो। यही नाटकघरको टोली गत ११ चैतदेखि पश्चिम नेपालमा छ। अहिले उनीहरूको यस नाटकका क्लिपहरू सामाजिक सञ्जालमा राम्रै शेयर भइरहेका छन्।

कथाघेराकी निर्देशक तथा नाटक टोलीकी नेतृत्वकर्ता आकांक्षा कार्कीका अनुसार यस नाटकमा महिला उद्यमशीलतालाई मुख्य विषयवस्तु बनाइएको छ। महिलाको हातमा सीप बसाइयो भने सबैलाई कल्याण हुन्छ, महिलाले गर्न नसक्ने केही छैन, समान अवसर नभएको कारण मात्रै महिलाहरू पछाडि परेका हुन् जस्ता विषयहरू नाटकमा समावेश गरिएको उनले बताइन्। अहिले यो टोली सल्यानको सल्ली बजारमा आफ्नो अन्तिम प्रदर्शन गर्न तयार छ। यो नाटकमा घरभित्र र बाहिरको काम गर्दै आएका अथवा आफैं केही गर्न चाहने तर समाज र परिवारबाट साथ सहयोग नपाएका पात्रहरूको कथा रहेको निर्देशक कार्कीले सुनाइन्।

नाटकले लैङ्गिक समानता र अवसरको कुरा गर्ने पनि उनको भनाइ छ। अहिलेसम्म कथाघेराको टोलीले सुदूरपश्चिम प्रदेशमा ६ स्थान र कर्णाली प्रदेशमा ५ स्थान गरी कुल ११ स्थानमा नाटक प्रदर्शन गरिसकेको छ। आजको प्रदर्शनपछि टोली काठमाडौं फर्किन तयारीमा छ। कथाघेराको यो नाटकलाई धेरैले सामाजिक सञ्जालमा प्रशंसा गरिरहेका छन् भने केहीले आलोचनात्मक टिप्पणीहरू पनि गरिरहेका छन्। विशेषत: नाटकमा प्रयोग भएको ‘नपूज, नढोग’ भन्ने शब्दलाई ‘धर्म र परम्परामा आक्रमण’ भन्दै नकारात्मक टिप्पणी भइरहेको छ। यस विषयमा कार्कीले यी शब्दहरूलाई तोडमोड गरेर गलत अर्थ लगाउन खोजिएको बताइन्। यी शब्दहरू प्रतीकात्मक मात्र रहेको उनको भनाइ छ। सडकमा मञ्चन गरिएको यो नाटक २ वैशाखमा युट्युबमा पनि उपलब्ध गराइने निर्देशक कार्कीले जानकारी दिइन्।