
३० चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिला आरक्षण विधेयकको सन्दर्भमा भारतको संसद् नयाँ इतिहास रच्न लागेको बताएका छन् । सोमबार दिल्लीस्थित विज्ञान भवनमा आयोजित ‘नारी शक्ति बन्दन सम्मेलन’मा सम्बोधन गर्दै उनले राज्यका विधानसभादेखि राष्ट्रिय संसदसम्म महिला प्रतिनिधित्वका लागि दशकौँको पर्खाइ अब समाप्त हुन लागेको बताउनुभयो । प्रधानमन्त्री मोदीले आगामी अप्रिल १६, १७ र १८ लाई यस प्रतीक्षाको अन्त्य हुने महत्वपूर्ण क्षणका रूपमा वर्णन गर्नुभयो ।
सन् २०२३ मा नयाँ संसद भवनमा ‘नारी शक्ति बन्दन अधिनियम’ को रूपमा पहिलो कदम चालिएको सम्झाउँदै उनले समयमै यसलाई लागु गर्न र लोकतन्त्रमा महिलाको सहभागिता सुनिश्चित गर्न अप्रिल १६ देखि संसद्को बजेट अधिवेशनमा विशेष बैठक आयोजना गरिने जानकारी दिनुभयो । उहाँले यस निर्णयलाई २१ औं शताब्दीका महत्वपूर्ण निर्णयमध्ये एक भएको दाबी गर्दै अब महिलाहरूका लागि संसदसम्म पुग्ने बाटो अझ सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्ला सरकारी योजनाले महिलालाई आर्थिक रुपमा पनि सशक्त बनाएको र हालको समयमा उनीहरूको भूमिकालाई अझै नजरअन्दाज गरिनुहुँदैन भन्ने उहाँको धारणा थियो ।






