Skip to main content

अमेरिका–इरानबीच दोश्रो चरणको वार्ताको सम्भावनाबाट कच्चा तेलको मूल्यमा गिरावट

१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिएका अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट क्रूड)को मूल्यमा गिरावट आएको छ। इरान र अमेरिकाबीच दोश्रो चरणको शान्ति वार्ताको सम्भावना बढ्दा मंगलबार कच्चा तेलको मूल्य करिब एक प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बीबीसीका अनुसार मंगलबार ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ९८.४० अमेरिकी डलरमा कारोबार हुँदैछ। अमेरिकामा हुने कारोबारमा यो मूल्य अझै १.७ प्रतिशतले घटेर ९७.४० डलर प्रति ब्यारेलमा पुगेको बताइएको छ।

ट्रम्पले सोमबार इरानबाट सम्झौताका लागि फोन आएको बताएका थिए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीलाई अर्को पक्ष (इरान)बाट फोन आएको छ। उनीहरू सम्झौता गर्न चाहन्छन्।’ अमेरिकी सञ्चार संस्था न्युयोर्क टाइम्सले इरानले पाँच वर्षसम्म युरेनियम संवर्द्धन रोक्ने सहमति जनाउँदै अमेरिकासँग प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो। तर, अमेरिकाले २० वर्षको सर्त राखेपछि इरानले प्रस्ताव अस्वीकार गरेको उल्लेख छ। यस विषयमा मध्यमार्गी प्रस्ताव आएर शान्ति सम्झौता हुनसक्ने र दोश्रो चरणको वार्ता हुनसक्ने चर्चा भइरहेको छ।