अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो – पश्चिम एसियाको युद्धले विश्व अर्थतन्त्रमा ‘कालो बादल’ ल्याएको छ

१ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पश्चिम एसियामा जारी युद्धका कारण विश्वको आर्थिक वृद्धि पूर्वानुमानभन्दा ०.३ प्रतिशतले घटेको जनाएको छ। यसअघि आईएमएफले सन् २०२६ मा विश्व अर्थतन्त्र ३.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो, जुन अहिले घटेर ३.१ प्रतिशतमा झरेको छ। नेपालमा पनि आर्थिक वृद्धि यस वर्ष २.९५ प्रतिशत रहने अनुमान गरिएको छ भने आगामी वर्ष ४.५ प्रतिशतको वृद्धि अपेक्षित गरिएको छ। व्यावसायिक परिदृश्यमा आएको परिवर्तन, अमेरिकाले भन्सार दर घटाएको र प्रविधिमा आएको उछालका कारण २०२६ को सुरुवातमा विश्व अर्थतन्त्रमा सकारात्मक संकेतहरू देखिएको थियो। तर, फेब्रुअरीमा पश्चिम एसियामा सुरु भएको युद्धले उक्त गतिलाई अवरुद्ध गरेको आईएमएफले स्पष्ट पारेको छ।
आईएमएफका आर्थिक सल्लाहकार पिएरे–ओलिभर गोरिन्चासले मंगलबार फ्ल्यागशिप प्रकाशन वर्ल्ड इकोनोमिक आउटलुकमा भने, ‘मध्यपूर्वको द्वन्द्वले आर्थिक वृद्धि स्थिर हुनबाट रोकिदिएको छ र यसले ल्याएको क्षतिलाई कम गर्न सहि नीति तथा बलियो विश्वव्यापी सहयोग आवश्यक छ।’ युद्ध दीर्घकालीन भए र ऊर्जा पूर्वाधारमा थप क्षति पुगेमा आर्थिक वृद्धि दर २ प्रतिशतसम्म झर्न सक्छ भन्नेअनुमान पनि प्रस्तुत गरिएको छ। आईएमएफले यस पटकको प्रतिवेदनको विषयवस्तु ‘युद्धको छायामा विश्व अर्थतन्त्र’ राखेको छ। यद्यपि अस्थायी युद्ध विरामका समाचार आइरहेका छन्, तर धेरै क्षति भइसकेको र यसले वृद्धिदरलाई न्यून गर्ने जोखिम अझ उच्च रहेको आईएमएफले जानकारी दिएको छ।
प्रतिवेदनमा भनिएको छ कि आयातमा निर्भर वित्तीय रूपमा कमजोर र विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन्। विशेष गरी मूल्य वृद्धिका कारण गरिब देश र त्यहाँका नागरिक कमजोर हुने खतरा बढी रहनेछ। गोरिन्चासले थपे, ‘पश्चिम एसियामा श्रमिक आपूर्ति गर्ने देशहरूमा विप्रेषण प्रवाहमा कमी आउनेछ,’ जसले नेपाल जस्ता देशहरूमा चिन्ताजनक स्थिति सिर्जना गर्नेछ। आईएमएफले सन् २०२२ को युक्रेन युद्धको संकटबाट प्राप्त पाठलाई स्मरण गराउँदै सरकारहरूलाई सुझाव दिंदै भनेको छ, ‘मूल्य नियन्त्रण र निर्यात प्रतिबन्धहरूले समस्या समाधान गर्दैनन्, बरु उल्टो असर पर्छ।’






