
१ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्ने भएका छन्। भोलि बुधबार दिउँसो १२ बजे समानुपातिक सांसदहरूसँग बालेनको अन्तरक्रिया कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुनेछ। सांसदहरूलाई आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्न भनिएको सचिवालयले जनाएको छ। जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ। यसअघि बालेनले प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभाका सांसदहरूसँग प्रदेशअनुसार भेटेर छलफल गरिसकेका छन्।






