‘वेलनेस दिवस’ मा भिडियो प्रतियोगिता घोषणा, हरेक प्रदेशका विजेतालाई ७५ हजार नगद पुरस्कार

नेपाल पर्यटन बोर्डले पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसरमा ‘हरेक फ्रेममा वेलनेस, हरेक कथामा नेपाल’ नाराका साथ भिडियो प्रतियोगिता आयोजना गरेको छ। यस प्रतियोगितामा सातै प्रदेशबाट एक विजेता छनोट गरी हरेकलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। आवेदन दिने अन्तिम मिति १४ मे २०२६ तोकिएको छ। प्रतियोगिताले आयुर्वेद, योग, ध्यान, स्पा र आध्यात्मिक उपचार क्षेत्र समेटे २० सेकेन्डको भिडियो निर्माण गर्न आह्वान गरिरहेको छ र सामाजिक सञ्जालमा ह्यासट्याग प्रयोग गरी सेयर गर्नुपर्ने छ।
नेपाल पर्यटन बोर्डका अनुसार, यस अभियानले नेपाललाई विश्वकै उत्कृष्ट आध्यात्मिक तथा प्राकृतिक स्वास्थ्य (वेलनेस) गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। बोर्डले प्रत्येक प्रदेशबाट एक विजेता छनोट गरी ७५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने जनाएको छ। इच्छुक सहभागीहरूले आफ्ना सिर्जना photonepal.org मा अपलोड गर्न सक्नेछन्।
यस प्रतियोगिताले सहभागीहरूलाई हिमालयको शान्ति र देशका विभिन्न वेलनेस पद्धतिहरू २० सेकेन्डको प्रभावकारी भिडियोमा समेट्न आह्वान गरेको छ। डिजिटल उपस्थिति वृद्धि गर्न सहभागीहरूले आफ्ना भिडियोहरू #WellnessNepal र #NepalNow जस्ता ह्यासट्यागहरु प्रयोग गरी सामाजिक सञ्जालमा सेयर गर्नुपर्नेछ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले भने, ‘यो प्रतियोगिताले विश्वलाई हाम्रो राष्ट्रको आत्मासँग जोड्ने डिजिटल पुलको भुमिका निभाउने छ।’






