Skip to main content

ट्रम्पले ट्रूथमा राखेको एआई तस्वीरले क्रिश्चियन समुदायमा विवादको सामना गर्यो

डोनाल्ड ट्रम्पले आइतबार आफ्नो ‘ट्रूथ सोसल’मा एआईद्वारा सिर्जना गरिएको एक तस्वीर पोस्ट गरेका छन्, जसले अहिले विवादलाई जन्म दिएको छ। त्यस तस्वीरमा ट्रम्पलाई जिससजस्तै दैवी स्वरूपमा देखाइएको छ, जहाँ उनको हातबाट ईश्वरीय प्रकाश निस्किरहेको छ र उनी अस्पतालको बेडमा रहेका बिरामीको उपचार गरिरहेका छन्। पृष्ठभूमिमा नर्कको एउटा दानव देखिन्छ। यो तस्वीर विवादमा परेपछि ट्रम्पले उक्त पोस्ट हटाएका छन्। आइतबार सोही साइटमा उनले पोप लियो १४ औँ विरुद्ध लामो समयसम्म आक्रोश व्यक्त गरेका थिए। उनले पोपलाई ‘अपराध नियन्त्रणमा कमजोर’ को आरोप लगाएर क्याथोलिक चर्चका प्रमुख तथा बाराक ओबामाका रणनीतिकार डेभिड एक्सेलरडबाट प्रभावित भएको दाबी गरेका थिए। ट्रम्पले पोपसँग माफी माग्न अस्वीकार गर्दै भनेका छन्, ‘उनी सार्वजनिक रूपमा आएँ। म त केवल पोप लियो १४ औँलाई जवाफ दिइरहेको छु।’ ट्रम्पले आफ्ना केही उच्च पदस्थ र वफादार क्रिश्चियन समर्थकहरूको आक्रोशको सामना गर्नु परेको छ, जहाँ धेरैले ट्रम्पलाई उनका अन्य गल्तीमा पनि समर्थन गर्दै आएका थिए। फक्स न्युजकी पोडकास्ट होस्ट राइली गेन्सले सामाजिक सञ्जाल एक्समा लेख्दै आफूले ट्रम्पले किन यो पोस्ट गरे भनेर बुझ्न नसकेको उल्लेख गरेकी छन्। उनले थप लेखेकी छन्, ‘के उनी कुनै प्रतिक्रियाको खोजीमा छन्? के उनी वास्तवमै यस्तै सोच्छन्? जे भए पनि, दुई कुरा सत्य छन्: १– थोरै नम्रताले उनलाई फाइदा पुर्याउनेछ। २– ईश्वरको उपहास गर्नु हुँदैन।’ रुढिवादी ‘डेली वायर’की लेखिका मेगन बासमले उक्त पोस्टलाई अत्यन्तै अपमानजनक मानिन्। उनले लेखिन्, ‘मलाई थाहा छैन राष्ट्रपतिले आफूलाई ठट्टा गरिरहेको हो कि उनी कुनै नशालु पदार्थको प्रभावमा थिए, अथवा यसका लागि के सम्भावित स्पष्टीकरण हुन सक्छ।’ उनले ट्रम्पलाई ‘यो तस्वीर तुरुन्त हटाउन र पहिला अमेरिकी जनतासँग र त्यसपछि ईश्वरसँग माफी माग्न’ आग्रह गरेकी थिइन्। त्यसै सञ्चार माध्यमकी होस्ट इसाबेल ब्राउनले उक्त तस्वीरलाई घृणास्पद र अस्वीकार्य भनेकी छन्। ‘जिससभन्दा महत्त्वपूर्ण अरू केही छैन,’ उनले भनिन्। “स्पष्ट रूपमा भन्नुपर्दा, यो पोस्ट घृणास्पद र अस्वीकार्य छ।” दक्षिणपन्थी ‘ब्लेज टिभी’का होस्ट स्टिभ डेसले मात्र एक शब्दमा प्रतिक्रिया दिएका छन्, ‘नो’। पत्रकारहरूले ट्रम्पलाई के तपाईंले आफूलाई जिसस ख्रीष्टको रूपमा चित्रण गरिएको तस्वीर पोस्ट गर्नुभएको हो भनी सोध्दा, ट्रम्पले जवाफ दिए, ‘त्यो कुनै चित्रण थिएन, त्यो म छु।’ ट्रम्पले थप भने, ‘यो त मानिसहरूलाई निको गरिरहेको चिकित्सकको रूपमा मेरो तस्बिर हुनुपर्ने थियो।’ उनले आफू साँच्चिकै मानिसलाई स्वास्थ्यलाभ गराउन दावा गरेका थिए। उपराष्ट्रपति जेडी भान्सले सोमबार फक्स न्युजसँगको अन्तर्वार्तामा जिससजस्तो देखिने तस्वीरलाई ‘ठट्टा’ मात्र भएको भन्दै ट्रम्पको बचाउ गरेका छन्। ‘धेरैले आफ्नो ठट्टा नबुझेको महसुस गरेपछि ट्रम्पले उक्त पोस्ट हटाउनुभयो,’ भान्सले भने। ट्रम्प हाल क्याथोलिक इतिहासकै पहिलो अमेरिकी मूलका पोप, लियो १४ औँसँग वाक्युद्धमा छन्। पोप लियोले राष्ट्रपतिको नाम नबेचि, विशेष गरी इरानसँगको युद्ध सन्दर्भमा अमेरिकी विदेश नीति ‘सर्वशक्तिमान् भएको भ्रम’ बाट निर्देशित रहेको सङ्केत गरेका थिए। ट्रम्पले जवाफमा धर्मगुरुलाई ‘अपराध नियन्त्रणमा कमजोर’ भने र आफू ‘पोप लियोको प्रशंसक नभएको’ स्पष्ट पारेका छन्। साथै उनले विश्वका एक अर्ब ४० करोड क्याथोलिकको नेता ‘कट्टर वामपन्थीको स्वार्थ पूर्ति गर्न लागिपरेको’ आरोप पनि लगाएका छन्। गाजामा भएको नरसंहार र विनाशमा पनि मुखर रहेको पोपले अल्जेरिया यात्रा क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्प प्रशासनविरुद्ध डर नमान्ने र युद्धका विरुद्ध निरन्तर आवाज उठाउने बताए। पोपमाथि ट्रम्पले गरेको आक्रमणको व्यापक निन्दा फैलिएको छ। ट्रम्पका पुराना प्रशंसक र कट्टर दक्षिणपन्थी उपप्रधानमन्त्री माटेओ साल्भिनी लगायत इटालीका विभिन्न राजनीतिक विचारधाराका नेताहरूले पोपमाथि आक्रमण गैर-उपयोगी र बुद्धिमानीविपरीत भएको टिप्पणी गरेका छन्।