Skip to main content

नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बारे छलफल

समाचार सारांश नेपाली कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षको प्रभावकारी भूमिका निर्वाह गर्दै सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ। कांग्रेसले अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनको संरक्षणमा सरकारलाई सचेत गराउँदै नागरिक स्वतन्त्रता खुम्च्याउन नदिन आग्रह गरेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण तथा चयनात्मक भएको भन्दै भदौ २४ का घटनाको स्वतन्त्र छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ। ३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका कसरी निर्वाह गर्नेबारे छलफल गरेको छ। सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदमा प्रमुख प्रतिपक्षको भूमिका र सरकारसँगको सम्बन्धबारे विचार विमर्श गरेको हो। ‘नेपाली जनताले २००७ सालअघिदेखि २०८२ सम्म पटक–पटक गरेका संघर्ष र आन्दोलनले रोपेका स्वतन्त्रता, समता, सम्मान र सहअस्तित्वका मूल्यहरूलाई लोकतन्त्रकै उर्वर भूमिमा विकास गर्न सकिन्छ भन्ने कुरामा नेपाली कांग्रेसको दृढ विश्वास छ,’ कांग्रेसको निर्णयको पहिलो बुँदामा उल्लेख छ। ‘संविधानमा दर्ज लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, मानव अधिकार र भाषिक, सांस्कृतिक एवं धार्मिक विविधता जस्ता मूलभूत मूल्य–मान्यताप्रति कुनै सम्झौता नगरी आफ्नो निर्वाचन प्रतिज्ञापत्रमा उल्लेखित नीतिगत, संस्थागत र संरचनागत सुधारका प्रतिबद्धता अनुसार नेपाली कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नेछ।’ साथै सुशासन, पारदर्शिता र उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता तथा बलियो संसदीय संस्कार यी पाँच स्तम्भलाई बलियो बनाउन पार्टी प्रतिबद्ध रहेको कांग्रेसले जनाएको छ। कांग्रेसको निर्णयमा थप भनिएको छ, ‘विधिको शासन, नागरिक अधिकार र लोकतान्त्रिक मूल्यहरू संकुचित गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसले समर्थन गर्ने छैन। सरकारलाई त्यस्ता कदमबाट बच्न सचेत गराउँदै ध्यानाकर्षण गराइन्छ।’