
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै गएको छ। केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग नक्कली लेटरप्याड प्रयोग गरी प्रेस विज्ञप्ति जारी गरेको आरोपमा सात दिने स्पष्टीकरण सोधेको छ। खड्काले भने उक्त निर्णयलाई अवैधानिक, हास्यास्पद र अर्थहीन भनी अस्वीकार गरेका छन्। उनले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र आफूले वास्तविक लेटरप्याड प्रयोग गरेको दाबी गरेका छन्। यस विवादले पार्टीभित्र अनुशासन र नेतृत्वको वैधतामाथि गम्भीर टकराव निम्त्याएको छ।
यस विषयमा कांग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउदसँग गरिएको छोटो संवादमा उनले भने, “पूर्णजीलाई सोधिएको स्पष्टीकरण स्वाभाविक छैन। १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवादको अन्तिम निर्णय अझै टुङ्गिएको छैन। यो मुद्दा हाल अदालतमा विचाराधीन छ, त्यसैले उहाँमाथि अनुशासन कारबाही सान्दर्भिक हुँदैन।” उनले थपे, “अदालतमा विचाराधीन विषयमा पार्टीभित्र विवाद हुँदा विभाजनको सम्भावना बढ्छ।”
साउदले भने, “नेपाली कांग्रेस एक ऐतिहासिक पार्टी हो। यसको एकता लोकतन्त्र र राष्ट्रियताका लागि अत्यन्त महत्वपूर्ण छ।” उनले पार्टी सदस्यता अद्यावधिक गर्ने प्रक्रियामा गरिने परिवर्तनले आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शितामा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिए।
साउदले निष्कर्षमा भने, “नेपाली कांग्रेसमा व्यापक एकता, रुपान्तरण र नियमित वैधानिक प्रक्रियालाई अरोध नगरी अघि बढाएर मात्र पार्टीलाई सुदृढ बनाउन सकिन्छ। छलफल र संवादबाट कुनै पनि जटिल समस्याको समाधान सम्भव हुन्छ।”






