
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानस्थित हिजबुल्लाहलाई इजरायलसँग लागू गरिएका युद्धविराम नियमहरूको पालना गर्न आग्रह गरेका छन्। ट्रम्पले ट्रुथ सामाजिक मञ्चमार्फत् हिजबुल्लाहले यस महत्त्वपूर्ण समयमा सद्व्यवहार गर्ने आशा व्यक्त गरेका छन्।
राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘मलाई विश्वास छ कि हिजबुल्लाह यस ऐतिहासिक समयमा राम्रो र उपयुक्त तरिकाले व्यवहार गर्नेछ।’ उनले थप लेखे, ‘यदि उनीहरूले त्यसो गरे भने, यो उनीहरूको लागि एक महान समय हुनेछ। अब कुनै हत्या हुने छैन। अन्ततः शान्ति स्थापित हुनैपर्छ।’
यसका अगाडि ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमा एक पोस्ट मार्फत लेबनान र इजरायलबीच १० दिने युद्धविराम सहमति भएको घोषणा गरेका थिए। युद्धविराम घोषणा गर्ने क्रममा ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच छलफल भएको जनाएका थिए।
प्राविधिक रूपमा, यो युद्धविराम इजरायल र लेबनान बीचको हो, जहाँ हिजबुल्लाहले आफ्नो आधार स्थापित गरेको छ। एक इजरायली अधिकारीले अमेरिकी सञ्चार माध्यम सीबीएस न्यूजलाई जानकारी दिँदै भने, युद्धविराम अवधिमा इजरायलले केवल ‘हिजबुल्लाहको आक्रमण’ प्रति मात्र सैन्य जवाफ दिनेछ। बिहीबार मात्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दिगो शान्ति सम्झौताका लागि इरान समर्थित समूहलाई निशस्त्रीकरण गर्नुपर्ने बताएका थिए।






