
४ वैशाख, काठमाडौं । संघीय संसदअन्तर्गत कुल १६ वटा संसदीय समिति रहेका छन्। तीमध्ये ६ वटा समिति महिला सभापतिहरूले नेतृत्व गरिरहेका छन्। संघीय संसद दुई सदनमा विभाजित छ। राष्ट्रिय सभामा ४ वटा संसदीय समिति रहेका छन्, जसमा दुई समितिका सभापति महिला तथा दुई सभापति पुरुष हुन्। राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी छन् भने संघीयता सशक्तिकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्ती देवी राई छन्। विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्ण बहादुर रोकाय छन्।
प्रतिनिधि सभामा १० वटा संसदीय समिति छन्। दुवै सभामा दुई वटा संयुक्त समिति पनि गठन भएका छन्। सो समितिहरूको सभा सोमबार सम्पन्न भयो। शुक्रबार निर्वाचित १२ संसदीय समिति सभापतिहरूमध्ये ४ महिला छन्। कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा सुम्नीमा उदास र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा ओजस्वी शेरचन निर्वाचित भएका छन्। बाँकी समितिहरू पुरुष सभापतिहरूको नेतृत्वमा छन्। राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, संसदीय सुनुवाइ समिति सभापतिमा बोधनारायण श्रेष्ठ, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी रहेका छन्। सार्वजनिक लेखा समिति सभापतिमा भरत खड्का र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की निर्वाचित भएका छन्।






