
५ वैशाख, जनकपुरधाम । महोत्तरीको जलेश्वरमा ठूली हावाहुरीले टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर रुपमा घाइते भएका छन् । शनिबार साँझ जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि रुखले टेम्पोमाथि प्रहार गरेको थियो । रुखमुनी दबिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाइतेहरूलाई तत्काल नेपाली सेनाले उद्धार गरी जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको छ, जिल्ला प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिएका छन् । मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने ३३ वर्षीय राहुल मलिक रहेका छन् । शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
घाइतेहरूमा टेम्पो चालक, महोत्तरी जलेश्वर नगरपालिका–११ का ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा गाउँपालिका–३ का तपेश्वर मलिककी ४३ वर्षीया पत्नी फेकनीदेवी मलिक, जनकपुरधाम–१२ का १७ वर्षीय धिरज मलिक र जनकपुरधाम–२० का १४ वर्षीया रिया पण्डित रहेका छन् । उनीहरूमध्ये एकजनाको अवस्था सामान्य रहेको छ ।






