
सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय लोकेन्द्र बोहराको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित दुई जना सवार थिए र चालक दानबहादुर धामी सुरक्षित रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, ट्याक्टर सडकबाट करिब ३०० मिटर तल खसेको छ।
६ वैशाख, दशरथचन्द (बैतडी) । बैतडीको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यहाँको सिगास गाउँपालिका–८ लुपुणबाट बझाङको देउलेखतर्फ जाँदै गरेको सपप्र ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिगास–८ टोलखेतका २५ वर्षीय लोकेन्द्र बोहराको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले ट्याक्टरमा चालकसहित दुई जना सवार रहेको र बोहराको निधन भएको बताए। चालक सिगास गाउँपालिका–५ का करिब ३० वर्षीय दानबहादुर धामी आफूहरूको सम्पर्कमा रहेका छन्, उनले बताए।






