Skip to main content

रामकुमारी झाँक्रीको प्रश्न – मूल्यवृद्धिमा विद्यार्थी संगठनहरू किन मौन छन्?

पूर्वमन्त्री तथा एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको पीडामा विद्यार्थी संगठनहरू मौन रहेका प्रति आक्रोश व्यक्त गरिन्। उनले भारतमा पेट्रोलको मूल्य १०७ भारु हुँदा नेपालमा २१९ रुपैयाँ पुगेको अवस्थामा पनि विद्यार्थी र पठाओ चालकहरूले मौनता ओगटेको उल्लेख गरिन्। झाँक्रीले ठूला राजनीतिक दलहरूको अकर्मण्यता र आन्तरिक कमजोरीका कारण देशमा ‘विचारधारात्मक सङ्कट’ उत्पन्न भएको बताइन्। ६ वैशाख, काठमाडौं।

आइतबार काठमाडौंमा विद्यार्थी संगठनहरूको भूमिका र वर्तमान सामाजिक अवस्थाबारे आयोजित कार्यक्रममा बोल्दै झाँक्रीले विद्यार्थी आन्दोलन आफ्नो साख र एजेण्डाबाट च्युत भएको तर्क गरिन्। ‘हामीले कुनैबेला मट्टितेलमा खाना पकाउने विद्यार्थीका लागि सहुलियत चाहिन्छ भनेर सडक ततायौं, सार्वजनिक यातायातमा विद्यार्थी छुटका लागि लड्यौं। तर आज भारतमा पेट्रोलको मूल्य १०७ भारु हुँदा नेपालमा २१९ रुपैयाँ पुगेको छ, विद्यार्थी र पठाओ चालकहरू चुपचाप छन्। किन आज कसैलाई मन दुखेको छैन?’ उनले प्रश्न गरिन्।

झाँक्रीले बजारमा चामलको मूल्य एकैपटक बोरामा साढे तीन सय रुपैयाँले बढ्दा पनि उपभोक्ता र विद्यार्थी संगठनहरूले कुनै प्रतिकार नगरेकोमा आश्चर्य व्यक्त गरिन्। उनले भनिन्, ‘जनता र विद्यार्थीले मूल्यवृद्धिलाई ‘बदला’ को रूपमा हेरेर चुप बसेका हुनसक्छन्। जनताले पहिले ताली बजाएर भोट हालेका थिए, अहिले तिनैले आफ्नो घाँटी च्यापिरहेका छन्। यो अवस्था परिपक्क बन्न दिनुपर्छ, जब जनता र विद्यार्थीलाई साँच्चै महसुस हुन्छ तब मात्र कक्षाकाठाबाट विद्रोह निस्किन्छ।’

सांसद झाँक्रीले ठूला राजनीतिक दलहरूको अकर्मण्यता र आन्तरिक कमजोरीका कारण देशमा ‘विचारधारात्मक सङ्कट’ उत्पन्न भएको बताइन्। उनले पार्टीहरूले कार्यकर्तालाई विचारवान बनाउन नपाई ‘उपभोक्ता’ बनाएको भन्दै आलोचना गरिन्। ‘अन्तिम निर्वाचनमा के भयो? सुधारिएको कांग्रेस १८ सिटमा झरेको छ, एमाले ९ सिटमा र नेकपा ७ सिटमा समेटिएको छ। यो अरू कसैको दोष होइन, हाम्रो नालायकीको फल हो जुन जनताले दिएको सजाय हो। हामी सुध्रिएनौं भने यो सजाय अझै कडा हुनेछ,’ उनले भनिन्।