Skip to main content

कलाम अली र वसन्त शाही नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक नियुक्त

कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघले यूएईसँगको आगामी टी-२० आई सिरिजअघि उनीहरूलाई सहायक प्रशिक्षकको रूपमा चयन गरेको हो। ज्ञानेन्द्र मल्लले राजनीतिमा प्रवेश गरेपछि सहायक प्रशिक्षकको पद छोडेका थिए र त्यसको स्थानमा कलाम र वसन्त नियुक्त भएका हुन्।

६ वैशाख, काठमाडौं। कलाम अली र वसन्त शाही ठकुरीलाई नेपाली पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षकको जिम्मेवारी तारिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनीहरूलाई सहायक प्रशिक्षक नियुक्त गरेको जनाएको छ। कलाम यसअघि नेपाल ‘ए’ टोलीका प्रशिक्षक रहिसकेका छन् भने वसन्त पनि राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भइसकेका छन्।

नेपाल र यूएईबीच हुने टी-२०आई सिरिज र आगामी लिग २ सिरिज अघि दुई सहायक प्रशिक्षक नियुक्त गरिएका हुन्। कलाम अली हाल पीएम कप क्रिकेटमा बागमती प्रदेशको प्रशिक्षक थिए भने वसन्त शाही लुम्बिनी प्रदेशका प्रशिक्षक थिए। यस्तै, एनपीएलको दोस्रो संस्करणमा कलाम चितवन राइनोजका मुख्य प्रशिक्षक थिए भने वसन्त काठमाडौं गोर्खाजका सहायक प्रशिक्षक थिए। यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका थिए। उनी रास्वपामार्फत राजनीतिमा होमिएपछि सहायक प्रशिक्षकको पदबाट हटेका थिए। नेपाल र यूएईबीच हुने दुई खेल सोमबार र मंगलबार खेलिने छ।