
म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई १-० को अन्तरले पराजित गरी युरोपियन च्याम्पियन्स लिग छनोटको सम्भावना बलियो बनाएको छ। म्याथुस कुन्हाले ४३औं मिनेटमा गरेको गोल नै युनाइटेडको जितमा निर्णायक सावित भयो। प्रिमियर लिगका शीर्ष ५ क्लबले च्याम्पियन्स लिगमा स्वतः छनोट पाउनेछन् भने युरोपा लिग सेमिफाइनल पनि छनोटमा प्रभाव पार्नेछ।
६ वैशाख, काठमाडौं। इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिग प्रवेशको सम्भावना थप मजबुत पारेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाइटेडले १-० को जित हात पारेको छ। यस जितसँगै युनाइटेडले ३३ खेलमा ५८ अंक जोड्दै तेस्रो स्थानमा कायम रह्यो भने पराजित चेल्सी ४८ अंकसहित छैटौं स्थानमा छ।
प्रिमियर लिगका शीर्ष ५ क्लबले स्वतः च्याम्पियन्स लिग प्रवेश पाउने छन्। शीर्ष ५ बाहिरका क्लबहरूले युरोपा लिग वा च्याम्पियन्स लिग जितेमा छैटौं वा सातौं स्थानमा रहे पनि छनोट हुने सम्भावना रहन्छ। यो सिजनमा ६ क्लबसम्म च्याम्पियनस लिग प्रवेश पाउँने अवस्था छ। युरोपा लिगको सेमिफाइनलमा एस्टन भिल्ला र नटिङघ्याम फरेस्ट भिड्नेछन्, जस्मध्ये विजेता टोलीले फाइनलमा पुगेर उपाधि जित्दा च्याम्पियन्स लिग प्रवेश पाउन सक्नेछ।
प्रिमियर लिगकै गएरातिका अन्य खेलहरूमा टोटनहम र ब्राइटनबीच २-२ गोलको बराबरी रहयो, लिड्सले वुल्भ्सलाई ३-० ले हरायो भने बर्नमाउथले न्यूकासललाई २-१ ले पराजित गर्यो। ब्रेन्टफोर्ड र फुलहमको भिडन्त गोलरहित बराबरीमा समाप्त भयो।






