अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट तयारीका लागि मन्त्री एवं सचिवहरूसँग छलफल गरे

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सम्बन्धमा विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग विस्तृत छलफल गरेका छन्। अर्थ मन्त्रालयमा सम्पन्न उक्त छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य र प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकाल पनि सहभागी थिए। अर्थमन्त्री वाग्लेले बजेट निर्माणमा सुशासन, आर्थिक विकास, निजी लगानी, पूर्वाधार विकास र विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिन आग्रह गरेका छन्। ७ वैशाख, काठमाडौं।
सोमबार अर्थ मन्त्रालयमा अर्थ मन्त्री वाग्ले तथा सबै विषयगत मन्त्रालयका मन्त्री र सचिवबीच आगामी आर्थिक वर्षको बजेट तयारी सम्बन्धमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल पनि सहभागी थिए। अर्थ सचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले विषयगत मन्त्रालयहरूबाट बजेट रकमान्तर गर्ने प्रक्रिया सरल बनाउन निर्णय गरेको विषय, बहुवर्षीय ठेक्का स्रोत सहमतिमा समयसीमा परिवर्तन लगायतबारे जानकारी गराएका थिए।
बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट तयारीको हालसम्मको प्रगति विवरण दिएका थिए। विषयगत मन्त्रालयका मन्त्रीहरूले आफ्ना मन्त्रालयको बजेट र कार्यक्रमसँग सम्बन्धित अवस्था तथा समस्याहरूमा छलफल गरे। अर्थ मन्त्री वाग्लेले नेपालको सार्वजनिक वित्तीय संकट अवस्थालाई औँल्याउँदै आगामी बजेटमा सबै पक्षको सामूहिक परीक्षण हुने बताउनुभएको छ।
उनका अनुसार, राज्यको अनिवार्य खर्च १,३३० अर्ब तथा राजस्व १,८०० अर्ब रहेको अवस्थामा नागरिकको आकांक्षालाई सम्बोधन गर्दै बजेट निर्माण चुनौतीपूर्ण रहेको छ। बजेटका सिद्धान्तको रूपमा सुशासन र संस्थागत सशक्तिकरण, सदाचार नीति अपनाउने, दिगो आर्थिक वृद्धिसहित आर्थिक विकास, निजी लगानी, सूचना प्रविधिको विस्तार, पूँजी विकासका लागि पूर्वाधार विकास, मध्यम वर्गको प्रगति, विपन्न वर्गको उत्थान र सौम्य शक्तिको विस्तारजस्ता विषयहरूमा आधारित बजेट तथा कार्यक्रम छनोट गर्नुपर्नेमा उनले जोड दिएका छन्।
अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका बाध्यता र सीमाहरू सबै मन्त्रालयलाई जानकारी भइसकेको र त्यसअनुसार आफ्ना मन्त्रालयका प्राथमिकताहरू निर्धारण गरी बजेट निर्माणमा सक्रिय हुन अनुरोध गरेका छन्।






