Skip to main content

पोखरा विश्वविद्यालयमा स्नातक तहमा एआई र डाटा साइन्स शिक्षण सुरु

८ वैशाख, काठमाडौं । पोखरा विश्वविद्यालयले स्नातक तहमा एआई र डाटा साइन्स शिक्षण सुरु गरेको छ। यो कार्यक्रम ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसमा सञ्चालन गरिएको हो, जुन पोखरा विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस हो। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन बुद्धि राज जोशीका अनुसार चार वर्षे कार्यक्रमको पहिलो सेमेस्टर पूरा भइसकेको छ। एक सेमेस्टर पूरा भएपछि विश्वविद्यालयले आगामी २ देखि ८ सेमेस्टरसम्मको पाठ्यक्रम समीक्षा गरी तयार पारेको छ।

जोशीका अनुसार यस कार्यक्रममा एआई (कृत्रिम बौद्धिकता) को प्रयोग, एप्लिकेशन विकास, सुरक्षा र जिम्मेवार प्रयोगका विषय समेटिएका छन्। साथै डाटा विश्लेषणको शिक्षण पनि गरिनेछ। चार वर्षे कार्यक्रममा जम्मा १२२ क्रेडिट आवर हुनेछन्, जसमा १०५ सैद्धान्तिक, ३६ मार्गदर्शन (ट्युटोरियल) र ९१ प्रयोगात्मक घण्टा रहनेछन्। विद्यार्थीहरुले पढाइपछि इन्टर्नशिप गर्ने अवसर पाउनेछन् जहाँ उनीहरू एआई प्रयोग गर्ने कम्पनीहरू र नेपाल सरकारका निकायहरूमा डाटा एनालिस्टका रूपमा कार्य गर्ने अवसर पाउनेछन्।

डीन जोशीले भने, स्नातक तहमा एआई र डाटा साइन्सको पढाइ यसै विश्वविद्यालयमा पहिलो हो। यो विषय अध्ययन गर्नका लागि प्लस टु मा विज्ञान विषय अध्ययन अनिवार्य छैन, तर ११ र १२ कक्षा मा गणित वा कम्प्युटर साइन्स लिने शर्त छ। हालसम्म विश्वविद्यालयले ४८ जना विद्यार्थीको कोटा तोकेर भर्ना लिएको छ, जसमा ९ जना छात्रवृत्तिमा छन्। चार वर्षको दौरान अध्ययनका लागि जम्मा ४ लाख ७८ हजार २०० रुपैयाँ खर्च पर्नेछ।

कार्यक्रमलाई प्रभावकारी बनाउन विश्वविद्यालयले विज्ञहरुसहित कार्यशालाहरू पनि आयोजना गर्दै आएको छ। पाठ्यक्रमलाई अझ प्रभावकारी बनाउनको लागि सम्पन्न कार्यशालामा सूचना प्रविधि क्षेत्रमा ५० भन्दा बढी विज्ञहरुको सुझाव संकलन गरिएको छ। विश्वविद्यालयको करिकुलम डेभलपमेन्ट सेन्टरको आयोजनामा तथा विज्ञान तथा प्रविधि संकायको समन्वयमा भएको कार्यशालामा उपकुलपति प्रा.डा. वेदराज केसी पनि सहभागी थिए जसले कार्यक्रमका लागि शुभकामना व्यक्त गरे।